काठमाडौं । एमालेमा विद्रोही नेता बनेका माधव नेपाल र झलनाथ खनाल समूह संकटको भूमरीमा परेको छ । अध्यक्ष केपी ओलीस“ग सम्झौता गरेर अगाडि बढ्ने कि अलग्गै पार्टी बनाएर हिंड्ने भन्नेमा नेपाल खनाल समूह बिच चर्को मतभेद छ । त्यसले गर्दा संगठित रुपमा अध्यक्ष ओलीसँग डिल पनि गर्न सकेका छैनन् । त्यसो त, ओलीले संगठित रुपमा डिल नगर्ने व्यक्तिगत डिल गर्ने बताएपछि यो समूहका केही नेता व्यक्तिगत डिलमा बालुवाटार प्रवेश सुरु भयो । तर, माधव नेपाल र भीम रावल भने व्यक्तिगत डिलमा पनि पर्ने संभावना कम भएको छ ।
नेपाल र खनाल समूहभित्र चारथरी विचार छ । ती चारथरी विचारका कारण एकमत भएर एमालेभित्र संघर्ष गर्ने विचार पनि बनाउन सकेनन् । कार्यकर्ता भेलामा पनि एकमत जुट्न सकेन । अबको बाटो के भनेर प्रष्ट पार्न पनि सकेनन् । माधव नेपाल र भीम रावलहरुको एउटा धार छ । यो धारले अध्यक्ष ओलीस“ग झुक्नै नहुने परिआए नयाँ पार्टी बनाएर जानेसम्मको सोच बनाएका छन् । अध्यक्ष ओली पनि यी दुई नेतास“गै बढी चिढिएका छन् । त्यसैले अहिले यो समूहलाई अध्यक्ष ओलीस“ग डिल गर्न पनि गाह्रो भएको छ ।
अर्को समूह छ घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टहरुको । यो समूह एमालेको मुलढोकाबाट छिरेपछि अध्यक्ष ओलीसँग त्यहीभित्र भिड्नुपर्छ भन्ने तर्क गर्ने । सबै बैठकमा सहभागी हुने तिनै बैठकहरुमा असहमति राख्ने र संघर्ष जारी राख्ने भन्ने मत भुसाल र भट्टराई, विष्टहरुको हो । उनीहरुकै जोड बलमा २०७७ चैत ५ गतको कार्यकर्ता भेलाबाट संसदीय दलको बैठकमा जाने निर्णय भएको थियो । तर अतिवादी सोच राखेर रावलले विरोध गरेपछि माधव नेपाल पनि सहमत भई बिच बाटोमा पुगेका सांसदलाई फिर्ता बोलाइएको थियो ।
अर्को धार भनेको वेदुराम भुसालहरुको रहेको छ । उनीहरु महाधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष ओलीलाई स्वीकार गर्न तयार त छैनन् । तर जबजको मान्यताबाट पछाडि हट्न नसकिने भएकोले त्यहीभित्र संघर्ष गर्ने मत राख्छन् । त्यसैले बैठकमा नजाने र बाहिर बस्ने काम गर्न हुँदैन भन्ने वेदुरामहरुको कुरा सार्वजनिक भएका छन् ।
नीतिगत कुरामा बढी जोड दिने उनीहरु पार्टी नयाँ बनाउनुपर्छ भन्ने पक्षमा भने छैनन् । त्यसैगरी, अर्को समूह भने सुरेन्द्र पाण्डेहरुको छ । यो समूह खासमा मुखर छैन तर पार्टी छोडेर जान हु“दैन भन्नेमै छन् । त्यसैले तुलनात्मक रुपमा लचक रहेका पाण्डेले लचक भएर नै स्पष्टीकरण बुझाउने तयारीमा छन् ।
तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपाल मिलेको बेलामा पाण्डेलाई महासचिव बनाउने तयारी थियो । झलनाथ खनालको प्रस्तावमा पाण्डे महासचिव प्रस्तावित भइसकेका थिए । सचिवालयबाट स्वीकृत पनि भइसकेको थियो तर स्थायी समितिमा भीम रावलले दावी गरेर पाण्डेलाई भड्काएका थिए । त्यसपछि यी दुई नेताको सम्बन्ध पनि त्यति सुमधुर छैन ।
एमालेको नवांै महाधिवेशनमा ६ मतले पराजित भएका पाण्डेलाई त्यतिबेला पनि एउटै टीम भएर पनि रावलहरुको टीमले नै असहयोग गरेका थिए । रावलकै कारण पराजित हुनुपरेको बुझाइमा रहेका पाण्डे अहिले पनि महासचिव बन्नबाट रावलले नै रोकेका कारण उनी अहिले रावलको पक्षमा छैनन् । रावलसँग माधव नेपाल बढी नै कन्भिन्स देखिन्छन् । त्यसैले ओलीले कारबाही गरेको अवस्थामा पनि नेपाल र रावल नै पर्ने अनुमान छ ।



