काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा दीर्घराज मैनालीले ३ वर्षे कार्यकाल पूरा गरी हालै अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनी विभागको महानिर्देशक हुँदा आफ्नो स्वार्थअनुसार एकथरी व्यापारीलाई दुःख दिने, विस्थापित गर्ने काम गरे भने ठूलो मात्रामा नक्कली भ्याटबिल प्रयोग गरी राष्ट्रको अर्थतन्त्रमा संकट पैदा गर्ने ठूला व्यापारीलाई उन्मुक्ति दिएको खुलासा भइरहेको छ ।
नक्कली भ्याटबिल प्रकरणमा मैनालीले उपसचिव प्रेम घिमिरेमार्फत कुरा मिलाउनेलाई त्यहीअनुसार बिगो दाबी गर्दै मुद्दा दायर गरेका छन् भने कुरा नमिलाउनेलाई १ लाख बिगो छ भने १० करोडको मुद्दा दायर गरेको रेकर्ड जिल्ला अदालतबाट मगाएर हेरेपनि प्रष्ट हुनेछ । नक्कली भ्याटबिल प्रकरणमा मैनालीले ओम सर्जिकलका सञ्चालक रामशरण भण्डारीलाई दिएको उन्मुक्तिले पनि सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान चरितार्थ गरेको छ । मैनालीले उपसचिव प्रेम घिमिरेलाई परिचालन गरी नक्कली भ्याटबिल प्रयोगकर्तासँग मोलमोलाई गरेको रहस्य एकपछि अर्को रुपमा खुलिरहेको छ ।
उनले आफ्नो स्वार्थ अनुकूल हुनेलाई संरक्षण गरी सानातिना व्यवसायीलाई विस्थापन गर्ने काम गरे । १ लाख बिगो गरेका व्यापारीलाई करोडौंको मुद्दा दायर गरेर हतोत्साही पारे भने अर्बाैंको बिगो गर्नेलाई करोडको मुद्दा दायर गरेर उन्मुक्ति दिएका प्रमाण हामीलाई एकपछि अर्काे प्राप्त भइरहेका छन् । नक्कली भ्याटबिल मात्र नभई विभिन्न व्यवसाय गर्नेहरूसँग मैनालीले प्रेम घिमिरेमार्फत मोलमोलाई गर्ने, कुरा मिले सामसुम पार्ने र नमिले बिगोभन्दा कयौं गुणा बढी रकम कायम गरी मुद्दा दायर गर्ने कामलाई तेजीका साथ अगाडि बढाएका थिए ।
नेपालको सुर्ती उद्योगले सबैभन्दा बढी राजश्व छली गर्दै आएका छन् । सुर्ती उद्योगका पूर्वका ठूला व्यवसायी रमेशकुमार शर्मा, पर्शुराम अग्रवाल हुन । काठमाडौंका प्रभुराम श्रेष्ठ र पश्चिमका कमल मालपानी सुर्ती व्यवसायमा स्थापित नाम हुन । यी कम्पनीबीच व्यवसायिक प्रतिद्वन्द्विता चल्दै आएको छ । पर्शुराम अग्रवालसँग सहसचिव मैनालीको व्यवसायिक र आर्थिक सम्बन्ध रहेको विगत धेरै समयदेखिको उनीहरूबीचको सु–सम्बन्धले नै पुष्टि गर्दै आएको छ ।
पर्शुराम अग्रवालको उत्पादन घडिछाप सुर्ती र गुट्खालाई अगाडि बढाउन उनकै योजनामा पश्चिमको करेन्ट गुट्खा उद्योगमा नारायण रिमालको नेतृत्वमा छापा मार्न पठाए । पछि लेनदेनमा कुरा मिलाउन मैनालीले तिनै पर्शुराम अग्रवाललाई नै खटाएका थिए । स्रोतका अनुसार लेनदेनको हिसाबकिताब ५ करोड भारुमा भारतको दरबंगामा तय भयो । घुसमा कुरा मिलेपछि नाम मात्रको मुद्दा बनाई सेटल गरियो । सुर्ती व्यवसायी रमेश शर्मा र प्रभुराम श्रेष्ठले मैनालीका बिचौलिया पर्शुराम अग्रवालसँग कुरा मिलाउन सकेनन् ।
फलस्वरुपः विभागले शर्माविरुद्ध २७ करोड र प्रभुविरुद्ध ९ करोड बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा राजस्व छलीको मुद्दा दायर ग¥यो । मैनालीले परशुराम अग्रवालमार्फत रमेश शर्मा र प्रभुरामलाई मिलापत्रको प्रस्ताव त पठाएकै थिए । तर उनीहरूले मिलापत्रबारे परशुरामसँग डिल गर्न नमान्दाको परिणाम उनीहरूविरुद्ध बिगो गरेभन्दा कयौं गुणा बढी मागदाबी गर्दै मुद्दा दायर गर्ने काम मैनालीले गरेका थिए । मैनालीले प्रतिस्पर्धी सुर्ती कम्पनीलाई दुखः र सास्ती दिएर व्यवसाय नै चौपट पारिदिएका छन् र वर्तमान अवस्थामा परशुराम अग्रवालको घडिछाप सुर्तीले बजारको ठूलो हिस्सा ओेगटेको छ ।
परशुराम अग्रवाल र दीर्घराज मैनालीको यो सम्बन्धले घडीछाप सुर्तीले बजारको ठूलो हिस्सा ओगट्न सफल भएको छ । घडीछाप सुर्तीले बजार जति ओगट्छ, त्यसको प्रत्यक्ष लाभ मैनालीले पनि पाउने गरेको राजस्व अनुसन्धानका अधिकारीहरू बताउँछन् ।



