काठमाडौं । नागरिक आन्दोलन दबाउन सडकमा उत्रिएको सेनाको गोली लागेर म्यानमारमा सात वर्षीया बालिकाको मृत्यु भएको छ ।
मान्डली शहरको आफ्नो घरमै बसिरहेकी बालिकाको सेनाको गोली लागेर ज्यान गएको हो । उनको नाम खिन मिओ चित भएको खुलेको छ ।
म्यानमारको स्थानीय सञ्चारमाध्यमका अनुसार, सेनाले बालिकाका बाबुलाई लक्षित गरेर गोली प्रहार गरेको थियो । तर त्यसले गलत निशाना लियो र छोरीको ज्यान गयो ।
बालिकाको ज्यान लिएको सेनाले उनका दाजुलाई समेत नियन्त्रणमा लिएको छ ।
सैनिक शासनको विरोधमा उत्रिएकामाथि दमनमा उत्रिएको सेनाबाट हालसम्म १६४ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । जसमा २० जना बालबालिका छन् । यीमध्ये सबैभन्दा कम उमेरमा ज्यान गुमाउने बालिका भएकी छन् ।
घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले खेद प्रकट गरेका छन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सेभ द चिल्ड्रेनले यस्ता गतिविधि तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
सेनाले यो घटनाप्रति दुःख व्यक्त गरेको छ । तर उसले यसमा आफ्नोभन्दा पनि प्रदर्शनकारी जिम्मेवार रहेको आरोप लगाएको छ ।



