ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीला विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ ।
सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्नुभएको थियो ।
अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो ।
“हामी यो वर्ष सूचीकृत हुने तयारीमा छौँ, चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ”, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार नगरले चालु आवमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया अन्तिम चरणमा पुर्याइएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए । उनले भने, “मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयको आधारमा युनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।”
सूचीकृतको यस प्रक्रियामा आफूद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । बाह्र वर्षे कुम्भ मकर मेला (२०७८ साल) अगावै विश्व सम्पदामा सूचीकृत भइसक्ने न्यौपानेले बताए ।



