काठमाडौं । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोनाभाइरसविरुद्धको खोप निर्माणमा अहिले दर्जनौं देश तथा संघ–संस्थाहरू लागिपरेका छन् । हालसम्म १०० भन्दा बढी खोप परीक्षणका क्रममा रहेका छन् भने ७ वटा खोपले सबै प्रक्रिया पूरा गरेर आपतकालीन प्रयोगका निम्ति अनुमति पाएका छन् ।
विश्वका विभिन्न देश र संस्थाले कोरोनाविरुद्धको खोप तयार पारिसक्दा नेपाल सरकार भने कोरोनाको खोप आफैंं ल्याउने वा निजी क्षेत्रलाई दिने भन्नेमै प्रष्ट हुन सकेको छैन । यति मात्रै होइन कोरोनाविरुद्धको खोप भण्डारण क्षमता विकासमा पनि सरकार उदासीन देखिएको छ ।
आपतकालीन प्रयोगका निम्ति अनुमति पाएका तथा परीक्षणमा रहेका खोप अलि फरक किसिमका छन् । प्लस २ देखि माइनस ७० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने गरी यी खोप निर्माण भएका छन् । तर केही संख्यामा माइनस २० डिग्री सेल्सियससम्म खोप भण्डारण गर्न सकिने भए पनि त्योभन्दा मुनिको तापक्रममा भण्डारण गर्न नेपाल सरकारसँग पूर्वाधार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी बताउँछन् ।
भण्डारणमा आवश्यक पूर्वाधार निर्माणमा जुटेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । तर अहिलेदेखि नै पूर्वाधार निर्माणमा जुटे पनि केही महिना लाग्ने भएकाले भण्डारणमा समस्या हुने देखिन्छ ।
कसरी आउँदैछ नेपालमा खोप ?
कोभ्याक्समा सहभागी देशका २० प्रतिशत नागरिकलाई पुग्ने गरी कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइँदैछ । नेपाल पनि कोभ्याक्समा आबद्ध रहेकाले २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप उपलब्ध हुनेछ । यसका लागि झण्डै ४८ अर्ब रूपैयाँ खर्च हुने प्रक्षेपण सरकारले गरेको छ ।
यस्तो खोप ल्याउन उत्पादन गर्ने संस्था या मुलुक विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ । त्यसपछि मात्र खोप ल्याउन मिल्छ ।
तयार भएका खोप ल्याउन केही मुलुकले अग्रसरता लिएका छन् । तर सरकारले अहिलेसम्म आफैं या निजी क्षेत्रमार्फत खोप ल्याउने भन्ने मोडालिटीसमेत तय गर्न सकेको छैन ।



