(मानिसको जीवनमा धन नभइनहुने चिज हो । बिना धन केही नभन भन्ने त नेपाली उखानै छ । त्यही उखानको पछि लाग्दा सडक पाइलट माधव चौलागाईलाई अहिले पछुतोमात्र लागिरहन्छ । ३४ वर्षे ओखलढुंगाका लक्का जवानले जोशमा होश गुमाउँदा अहिले पछुताउनु परेको हो । कारण हो भइखाएको बोडिङको शिक्षण पेशा छाडेर गाडीलाइनमा आउनु । बा २ ख ७०१५ को फोर्स गाडीका चालक चौलागाईले सडक पाइलटसँगको अन्तरंगमा साँघु प्रतिनिधिसँग यसरी आफ्नो पीडा पोखेका छन्–सम्पादक)
० गाडीलाइनमा लागेको कति भयो नि ?
–भयो १५–१६ वर्ष ।
० पहिले के गरियो ?
–सुरुमा त म २–३ महिना ढोकामै बसें ।
० पहिले के चलाउनु भयो ?
–ढोकामा बसेर गाडीलाइन बुझेपछि मैले ट्याम्पु चलाएँ । दुई वर्ष जति ट्याम्पु चलाएँ ।
० त्यसपछि ?
–त्यसपछि मैले फोर्स, मिनिबस चलाएँ । यही चलाइरहेको छु ।
० आफ्नै कि साहुको गाडी ?
–साहुको नि । आफ्नो त के किन्न सक्नु । यो लाइनमा छिरेपछि थाहा हुन्छ गाडीलाइनको अवस्थाबारे ।
० किन कस्तो छ गाडीलाइन ?
–साहुलाई त पैसा बुझाउन सकिएको हुँदैन । आफ्नै गाडी भइदिएको भए के हालत हुन्थ्यो होला ।
० कमाई छैन ?
–कमाई छैन । लकडाउन लागेपछि त गाडीलाइन झन् खत्तमै भयो । आम्दानी सुक्यो ।
० के गरियो लकडाउनमा ?
–कोठामै बसियो । अरु केही गरिएन । केही गर्न सक्ने कुरै भएन ।
० गाउँतिर गइएन ?
–गइन । ओखलढुंगा हो घर त । तर हाम्रो त्यहाँ जग्गाजमीन केही पनि छैन । सानैदेखि यतै काठमाडौंमा बसियो ।
० काठमाडौंमै घर छ ?
–एउटा सानो टहरो छ । बस्नलाई भएको छ ।
० कसरी आउनु भयो त यो लाइनमा ?
–बोर्डिङ स्कुलमा पढाउँथें । १५ वर्षअगाडि महिनाको जम्मा १५ सय रुपैयाँ मात्र तलब आउँथ्यो । त्यति चित्त बुझेन । घरखर्च पनि नचल्ने भयो । गाडीलाइनमा राम्रो पैसा हुने थाहा पाएँ । दिनकै पाँच सय रुपैयाँ कमाइ हुने रहेछ । महिनाको १४–१५ हजार । त्यत्रो पैसा हुन्छ भने यो टिचर को बन्छ भनेर गाडी लाइनमा आएँ ।
० राम्रो कमाउनु भयो होला त ?
–भनेजस्तो कहाँ हुन्छ र ? पहिले राम्रै कमाइ हुन्थ्यो । पछिपछि घट्दै गयो । अब अहिले त कुरै नगरौं ।
० पछुतो लाग्छ ?
–लाग्छ नि । बुद्धि पुगेन । पैसाको लोभमा लागियो । पढाइरहेको भए आफूले पनि पढिन्थ्यो । अहिले पक्कै राम्रो हुन्थ्यो । टिचर छाडेर ड्राइभर बन्दा बर्बाद भइयो ।
० कति पढेर छाड्नु भयो ?
–१२ पास गरेँ । त्यसपछि गाडीलाइनमा आएपछि पढ्ने कुरै भएन । परिस्थिति पनि त्यस्तै थियो ।
० कस्तो परिस्थिति ?
–घरको आर्थिक स्थिति कमजोर थियो । घरको जेठो छोरो परियो । जिम्मेवारीको कुरो पनि हुने रहेछ । बुबा काम गर्न नसक्ने हुनुभएको थियो । अनि पैसाकै पछि लागियो ।
० छोराछोरीलाई त पढाउने होला नि ?
–उनीहरूले पढ्छु भनुन्जेल पढाउने हो नि । आफूले नपढे पनि उनीहरूलाई पढाउने हो ।
० कति सन्तान ?
–दुई जना छोरी छन् । एउटी २ र अर्की युकेजीमा पढ्छन् ।
० अहिले पढिरहेका छन् त ?
–यसपालि त बर्बादै भयो नि । लकडाउनपछि त पढाइ नै भएन । एक वर्ष लस हुने भयो ।
० अनलाइन कक्षा पढाउनु भएन ?
–अनलाइन पनि कहाँ पढाउने ? सानो कक्षा प¥यो । कहीं पढाइएन त्यत्तिकै घरमै छन् । स्कुल खुल्ने भन्ने त सुन्छु । तर दुई महिनाका लागि कसरी पठाउने । फेरि यत्रो ठूलो डरत्रास छ । पठाउने कुरै भएन ।
० गाडीलाइन कस्तो छ नि ?
–यो लाइन खराव छ । यो त चुतिया र घटिया लाइन रहेछ । मान्छेले मान्छे हो भन्दैनन् । इज्जत छैन । यो लाइनमा आएपछि त भएको इज्जत पनि जाने रहेछ ।
० कसरी यस्तो भयो ?
–आफूले गर्दा हैन कि एक दुई जनाले गर्दा सबै क्षेत्र नै बदनाम भएको रहेछ । यहाँ केही पनि ठीक छैन ।
० अब के गर्ने सोच छ ?
–यही लाइनमा लागियो । अरु सीप छैन । लगानी गरेर अर्को व्यवसाय गर्ने कुरा पनि भएन । पैसा छैन ।
० विदेश जाने सोँच आएन ?
–अब बल्ल आएको छ सोँच । तर यस्तो बेलामा सोँच आएर के गर्ने । जहाँ पनि त्यस्तै छ ।
० पहिले सोचिएन ?
–जाने भनेर सोच आएको थियो । पासपोर्ट पनि बनाइयो । पहिलो लटमा साथीहरू गए, आफू गइएन । त्यसपछि नगएको नगएकै भइयो । पासपोर्ट पनि रिन्यु गर्ने बेला भयो ।



