प्रथमत राजा महेन्द्रकी ९३ वर्षीया रानी रत्नबारे बीपी कोईरालाले आत्मबृत्तान्तमा व्यक्त गरेको प्रभावलाई ल्याएर हेरौैं;
******************
राजा (महेन्द्र) का केही व्यक्तिगत प्रभावका कुराहरू म सम्झन्छु। बाहिर देखाउँदा जे गरे पनि राजाले जहिले पनि मलाई बडो सम्मान गर्थे। घरमा जाँदा बडो गर्वका साथ आफ्ना छोराछोरीहरू, जो दार्जिलिङ्गमा पढ्थे, उनीहरू दार्जिलिङ्गबाट छुट्टीमा आएको बखतमा मलाई बोलाउँथे र आफ्नो छोराछोरीहरूसँग मेरो परिचय गराउँथे। अनि बडामहारानी (रत्न)-एउटा पारिवारिक मित्रजस्ती।
सुशीलालाई के हुन्थ्यो भने, चेतना थिई, बिरामी परिराख्थी, उति जान सक्तिनथी। उ नगएमा गुनासो गर्थे, “खोई, सुशीलाजीलाई त तपाईँले ल्याउनुभएन?” भनेर। कहिलेकहीँ सुशीला जाँदाखेरी रानीले भन्थिन्, “आज कहाँबाट पश्चिमबाट घाम झुल्केछ?"
एकचोटी के भयो भने त्यस्तै भेटघाटको मौका थियो क्यार। छोराछोरीहरू आएका थिए। मलाई राजाको टेलिफोन आयो,
"आउनुस् आज पार्टी छ म कहाँ। अरु कसैलाई बोलाएको होइन, घरैको मात्र कुरा हो। तपाईँ आउनुहोस्, श्रीमतीजीलाई पनि लिएर आउनुहोस्।"
अनि बडामहारानी (रत्न) को पनि फोन आयो, “सुशीलाजीलाई पनि मेरो तर्फबाट बोलाउनू।"
माथि छतमा, गर्मीको बखत थियो। छतमा उनले बस्ने इन्तजाम गरेका थिए। आफ्नै परिवार। उनीहरू काउचमा बसेका थिए। मलाई लिन शेरबहादुर मल्ल गए तल। अनि सिँढीबाट हामी माथि छतमा आयौँ। छतमा प्रवेश गऱ्यौँ हामी, सुशीला अगाडी थिई, म पछि गएँ। अनि ती दुईटा खासखुस गरे, अनि हाँसे, मुस्कुराए। म नजिकै गएँ, प्रणाम गरेँ। “अनि किन सरकारहरू हाँसिबक्सेको हामीहरू आउँदा?” भनेर मैले सोधेँ। महाराजाधिराजले बडामहारानीलाई भने, ‘भन न, किन हो।’
“सरकारबाटै हुकुम होस्” भनेर उनले भनिन्। अनि राजाले भने, “हामीहरू अहिले कुरा गरिरहेका थियौँ, तपाईँलाई देख्नेबित्तिकै कि नेपालको प्रधानमन्त्री त यही मान्छे हुनसक्छ, जसले बाहिर पनि प्रतिष्ठा राख्नसक्छ र, देखाउन पनि बाहिर सकिन्छ भने यही मान्छेलाई सकिन्छ भनेर हामीहरू दुईजना कुरा गरिरहेका थियौँ। तपाईँलाई त्यो सिँढीमा देख्नेबित्तिकै हामीले त्यो कुरा गरेको।”
त्यस्तो किसिमको कुरा हुन्थ्यो।
अर्काे एउटा ब्यक्तिगत सम्बन्धको कुरा भएको छ।
“मेरो एउटा सानो घर बनेको छ, बङ्गलो छ, फेवातालको किनारमा। त्यहाँ तपाईँ जानुपऱ्यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर” भनेर राजाले भने।
मैले भने, “मलाई पनि सरकारसँग बस्न मन लागेको छ।"
“तर उहाँलाई पनि”, सुशीलालाई, “लिएर आउनुहोला नि” भनेर उनी त पहिले नै गए। मेरो एउटा कुनै काम थियो, त्यो काम सिध्याएर म आउँला भनेँ। सुशीला जान सकिन, ममात्रै गएँ। कस्तो मान गरेका थिए राजा र रानीले मेरो।
“खोई त, सुशीलाजी त आउनुभएन छ, हामीलाई थाहा थियो” भनेर गुनासो गरिन् रानीले।
एक दुईजना राजाका नातेदारहरू पनि थिए, मामाहरू। त्यहाँ मेरो विचार पुऱ्याएका थिए राजा र रानीले। खाने बेलामा राजाले भने, “यो बडामहारानीले बनाएको तपाईँको निम्ति स्पेशल। यो त तपाईँले लिनुभएन।”
त्यसपछि, म पनि रानीले काम गरिरहेको बेलामा भान्सामा फुट्ट पसिदिन्थेँ। “आ-यो स्वास्नीमान्छेहरूको ठाउँमा किन आएको नि” भन्थिन् रानीले।
उ पिर्कामा बसिकन एउटी मध्यम वर्गकी स्वास्नीमान्छेले, खास्टो, त्यो पनि धेरै महँगो होइन, ओढिकन तरकारी काट्ने, तरकारी केलाउने गरेको मैले देखेको छु। मैले रानी रत्नलाई त्यस्तो काम गरेको देखेको छु। म बडो, अत्यन्त प्रभावित भएको छु। तिनी कुनै ठस्सावाला होइनन्। अनि “तपाईँलाई कस्तो कुरो मिठो लाग्छ, तपाईँ भन्नुहुन्न” भनेर भन्थिन्।
मैले भनेँ, “सरकारबाट जे बक्सिन्छ, त्यो सबै मीठो लाग्छ नि।”
त्यसरी मलाई उनीहरूले सम्मान दिए, सम्मान मात्रै होइन, स्नेह पनि दिए। त्यो एक किसिमको आदर पनि माया पनि दिए।
मैले यहाँ के भन्न खोजेको भने, त्यस स्तरमा कुरा हुन्थ्यो मेरो उनीसँग-व्यक्तिगत स्तरमा। उनले भने, र यो कुरा त उनका बुबाले पनि भनेका थिए, जब म नारायणहिटी दरबारमा पाहुना भएर बसेको थिएँ, “मेरो व्यक्तिगत पाहुना पहिलो तपाईँ हो।”
यिनले पनि त्यही भने, “मेरो निजी पाहुना तपार्ईँमात्र हो, मेरो कोही निजी पाहुना भएनन्। अरु सबै सरकारी पाहुना भए।”
मैले रानीको ब्यवहार पनि माथि नै भनिसकेको छु। त्यहाँ म ५/६ दिन बसेँ। मसँग राम्रो, व्यक्तिगत किसिमको ब्यवहार भएको थियो त्यहाँ।
त्यही मलाई के लाग्दछ भने त्यति राम्रो व्यक्तिगत सम्बन्ध हुँदाहुँदै पनि राजाले पछि (पुस १ मा) किन त्यस्तो गरे? सबैले जिज्ञासा देखाउँछन्,-के हुन्थ्यो त्यसबेला मेरो र राजाको बीचमा ?
(बीपीको ‘आत्मबृत्तान्त’ बाट, पृ. २२२ देखि २२५ सम्म)
***********************
बालबालिकाको लागि करिब ५५ वर्षअघि बनाईएको रत्नपार्कलाई नामकरण गरियो महेन्द्रकी रानी रत्नको नामका साथ। तर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले बालबालिकालाई उपहार दिएको बच्चा रेलचाहिं रत्नपार्कमा राख्ने स्थान नमिलेर भृकुटी मण्डपमा राखियो। यसअघि त्यहाँ सर्वमान्य नेता गणेशमान सिंहको पूर्ण कदको शालिक स्थापित गरियो। तर नेपाली काँग्रेसले रत्नपार्कको नाम परिवर्तन गर्ने सोचाई बनाएको थिएन।
काठमाडौं महानगरपालिकाले मंसिर ७ गते आईतबार रत्नपार्कको नाम फेरेर शंखधर साख्वः पार्क राखेको छ। उनको नाममा जति खर्च लागे पनि भव्य पार्क बनाउनुपर्छ। यसमा दुईमत छैन। तर यस्ता क्षुद्र कार्यबाट के बुझिन्छ भने महानगरपालिकासँग राष्ट्रिय विभूति शंखधरको नाममा एउटा पार्क बनाउने हुति र सामथ्र्य रहेनछ। राष्ट्रिय विभूति शंखधर साख्वः को नाममा उपत्यकाका सबै नगरपालिकाहरूले आ-आफैं वा संयुक्त प्रयासमा विशाल र भव्य पार्क बनाउन सक्छन्। त्यही ताक्नुपर्ने जरुरी थिएन।
राजा महेन्द्र वा रानी रत्नप्रति मेरो कुनै सरोकार छैन, न त महेन्द्र मेरा आदर्श पुरुष नै हुन्। जीवनमा उनीहरूसँग देखा-भेट पनि हुने कुरा भएन। तर जीवनको आखिरी दिनमा पुगेकी जोसुकै महिलाको नाममा भए पनि आँसु आउने क्षुद्र र लफङ्गा काम किन गरेको होला? नैतिकता, प्राकृतिक न्याय, मानवता, सभ्य र लोकतान्त्रिक राज्यको जीवनमा हुने ब्यवहार होइन यो।
राजा महेन्द्रकी अर्धाङ्गिनी रत्न, बि.सं. १९८५ भदौ ४ गते जुद्ध शम्शेरका छोरा हरि शम्शेर र मेघराजकुमारीकी छोरीको रूपमा जन्मिन्। दिदि ईश्वरीको मृत्युपछि यूवराज महेन्द्रसंग २००९ मा यिनको विवाह भयो।
उनैको पालामा देशभरिका अनाथ र टुहुरा बालबालिकाका निम्ति बाल मन्दिरहरूको स्थापना भयो। गर्ल स्काउटको स्थापना, रत्न रेकर्डिङ् संस्थान, रत्नपार्क, रत्न विद्या पदक, रत्नशील्ड हाँजिरी जवाफ प्रतियोगिता, नेपाल बाल संगठन, रत्नश्री साहित्यिक पत्रिका प्रकाशन आदि यिनको नाममा भएका रचनात्मक कार्य हुन्।
अविवाहितकालमा ‘रन्जना शाह’ को नाममा कविता लेख्ने, बगैँचा र फूलबारी लगाउन मनपराउने, भान्सामा काम गर्ने, सिलाई-बुनाई गर्ने, पोखरीमा माछालाई चारो खुवाउनेजस्ता काममा उनको रुचि रहेछ।
हाल उनी नारायणहिटी दरबार परिसरभित्र कल्पवास झैँ बाँकी जीवन बिताइरहेकी छन्। सबै कुराको हेरबिचार निर्मल निवासबाटै भइरहेको बुझिन्छ।
https://www.facebook.com/permalink.php?story_fbid=2823579044586208&id=100008024195814&__tn__=K-R



