काठमाडौं । अमेरिकाले केही दिनमै कोरोनाभाइरस (कोभिड–१९) को खोप सर्वसाधारणको प्रयोगमा ल्याउने तयारी गरेको छ ।
अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले विकास गरेको कोभिड–१९ भ्याक्सिनको परीक्षण सफल भएसँगै अमेरिकाले त्यसलाई प्रयोगमा ल्याउने तयारी गरेको हो ।
सीएनएनका अनुसार, फाइजर र त्यसको सहायक कम्पनीले निर्माण गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप दुईपटक लगाउनु पर्ने बताइएको छ ।
खोप प्रभावकारी भएसँगै फाइजर र बायोएनटेकले त्यसलाई आकस्मिक अनुमति दिन शुक्रबार आवेदन दिएका छन् ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले यसबारे आगामी डिसेम्बर १० मा छलफल गर्दैछ । अनुमति दिएको २४ घण्टाभित्र खोप प्रयोग गर्न सकिने भएकाले डिसेम्बरको ११ तारिखबाट ती खोप अमेरिकी नागरिकहरूले परीक्षण गर्न सक्ने अमेरिकाको कोरोनाभाइरस खोप प्रमुखले जनाएका छन् ।
बीबीसीका अनुसार, यो खोपको परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । जसले रोगसँग लड्ने एन्टीबडी र टी–सेलहरू उत्पादन गरेको बताइन्छ ।
सन् २०२० भित्रै फाइजरले यो खोप ५ करोड डोज उत्पादन गर्ने बताइएको छ ।
उत्पादित खोप अमेरिकाका राज्यहरुमा जनसंख्याको आधारमा वितरणख गर्ने योजना छ । खोप क–कसलाई दिने भन्ने मोडालिटी भने सम्बन्धित राज्य आफैंले तय गर्नेछन् ।
अमेरिका कोरोनाभाइरसको चर्को चपेटामा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, यहाँका १ करोड २० लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यीमध्ये २ लाख ५५ हजारको ज्यान गइसकेको छ ।



