काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिपाहीको रासनमा अनियमितता गर्ने एक एसएसपीको छानबिन ६ बर्षसम्म पनि टुंगोमा नपु¥याएको खबर छ । सिपाही हवल्दारको नाममा टीएडीए निकालेर खाने तत्कालीन काभ्रे जिल्लाकी एसपी (हाल एसएसपी) पूजा सिंहको अनुसन्धान सुरु गरेको ६ बर्षसम्म पनि नटुंगिएको स्रोत बताउछ । अर्थात् मुद्दा दायर भएको छैन । २०७१ भदौमा काभ्रे जिल्लाको प्रहरी प्रमुखमा सरुवा भएकी पूजा सिंह र लेखापाल धु्रव गौतमले सरुवा हुने प्रहरीका परिवारको टीएडीए खाएको पाइएपछि अख्तियारले छानबिन गरेको थियो ।
प्रहरीका परिवारले पाउनुपर्ने टीएडीए मिलेर खाएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले लेखापाल गौतमलाई लेखापालबाट हटाएको थियो । तर ६ बर्षसम्म पनि टीएडीए खाने मुख्य दोषी कमाण्डर पूजा सिंहको अनुसन्धान टुंगिन सकेको छैन । र, विशेष अदालतमा मुद्दा दायर भएको छैन । अनुसन्धान अधिकृतले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले मुद्दा दायर गरेनन् । यसबीचमा सिपाहीको टीएडीए खाने सिंह एसएसपी बढुवा भई डीआइजीका लागि दौडधूपमा छिन् । उनी प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छिन् । प्रशासन विभागका एआइजी निरजबहादुर शाहीको कार्यकक्षमा घन्टौंसम्म बस्ने गरेकाले अन्य काम लिएर जाने प्रहरी कर्मचारीहरू बाहिर कुर्न बिबश हुने गरेको गुनासो सुनिन्छ ।
मदन पुरस्कार प्राप्त साहित्यकार डीआइजी महेशबिक्रम शाहले गरेको रासन घोटालामा उनी बिरुद्ध २०७६ फागुन २० मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग¥यो । तर शाहको भन्दा अघि नै अनुसन्धान सकेर प्रतिवेदन बुझाएको पूजा सिंहको मुद्दा भने ६ बर्षसम्म पनि दायर भएको छैन ।
२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म सिन्धुलीको दुधौली तालिम केन्द्रको समादेशक बनेका पूर्वडीआइजी महेशविक्रम शाहबिरुद्ध तालिमे जवानको तलब हिनामिनाको आरोपमा अख्तियारले २०७६ फागुन २० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शाहसँग सिपाहीको रासनमा अनियमितता गरेको आरोप लगाउँदै ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । तर पूजा सिंहले २०७१ मै सिपाही हवल्दारको टीएडीए कीर्ते गरी खाएकोबारेमा प्रमाणसहित उजुरी परेर अनुसन्धान गरिसकेपछि मुद्दा दायर गरेको छैन ।
टीएडीए खाने पूजा सिंहको उजुरीमा अख्तियारले चासो राखेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो ।
सरुवा हुने तल्लो दर्जाका प्रहरीलाई मात्र होइन, उनीहरूका परिवारलाई समेत राज्यले टीएडीए सुविधा दिने गरेको छ । तर कतिपय इन्चार्जले सरुवा भएर जानेहरूको टीएडीए दिए पनि उनीहरूका परिवारको नदिई कीर्ते गरेर खाने गरेको पाइएको छ । सरुवा हुने प्रहरीले बाबुआमा, श्रीमती र २ सन्तानको टीएडीए पाउँछन् ।
एसएसपी सिंह र लेखापाल गौतम मिलेर टीएडीए खाएको बिषयमा अख्तियारले त्यतिबेला कार्यरत १ सय ५० जनासँग बयान लिएको थियो । सरुवा हुने तल्लो दर्जाका सिपाही हवल्दारदेखि कनिष्ट अधिकृतका परिवारको टीएडीए तत्कालीन एसपी सिंह र लेखापाल गौतमले खाएको उजुरी परेको थियो ।
अख्तियार स्रोतका अनुसार पूजा सिंहको उजुरी अहिले तामेलीमा पनि हालिएको छैन र मुद्दा चलाउनका लागि अगाडि पनि बढाइएको छैन । तत्कालीन प्रमुख आयुक्त घिमिरेले मुद्दा त चलाएनन्, तर तामेलीमा पनि हाल्न नसकी बिदा भए । घिमिरेको कार्यकाल सकिएपछि कार्यवाहक प्रमुख आयुक्त भएका डा. गणेशराज जोशीले सिपाहीको टीएडीएसमेत नछाड्नेलाई मुद्दा चलाउने अपेक्षा प्रहरीले गरेका छन् । (साँघु साप्ताहिक, कात्तिक ३)



