बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना दुई लाख घुससहित पक्राउ परेका छन् । अधिकृत रानाले गुड्खा र चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस लेनदेन गर्ने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएर गएको टोलीले प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झाबीच दुई लाख रकम लेनदेन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय रानाले श्री महालक्ष्मी सुगर्स प्रा.लि. कपिलवस्तु (हाल सर्लाही) मा कार्यरत रही हाल सोही कम्पनीको परिवारिक स्वामित्वको कम्पनी Wizard Fragrances Udyog Pvt. Ltd. कपिलवस्तुमा कार्यरत अनिल कुमार झाबाट VCTS (Vehicle & Consignment Tracking System) राजस्व लगायतका विभिन्न कामकाजमा सहजीकरण गरिदिएवापत दुई लाख घुस र रिसवत लिई निजले चलाईराखेको बा.२ झ. १७६७ नम्बरको सरकारी प्लेटको टोयटा हाईलक्स गाडीमा लुकाई राखेको अवस्थामा आयोगले बरामद गरेको थियो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को कसुर गरेको स–प्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.२,००,००० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र दफा ३ उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन र उक्त बरामदित रकमसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिएको छ ।
व्यवसायी अनिल कुमार झाले विजय रानालाई प्रभावमा पारी आफू कार्यरत कम्पनीको तर्फबाट राजस्व अनुसन्धान कार्यालयबाट हुने गरेका कामकारवाहीमा प्रभाव पार्ने मनसायका साथ निजलाई प्रलोभनमा पार्नका लागि रू.२,००,००० घुस र रिसवत दिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (३) को कसुर गरेको स–प्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.२,००,००० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (३) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ उपदफा (१) र दफा ३ उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।



