काठमाडौं, पुस २७: २९६ औ पृथ्वीजयन्तीको दिनमा ११ वर्षको अन्तरपछि आज बिहीबार पुन राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ।
उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा , उपप्रधानमन्त्री कमल थापा लगायत मन्त्रीहरुसँगै समाजका विभिन्न क्षेत्रका अगुवाहरु र राजनीतिक दलका नेताहरुले रामशाह पथमा अवस्थित पृथ्बीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन्।
वि.स २०६३ सालमा गिरिजा प्रसाद कोइरालाको मन्त्रीपरिषदमा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाको निर्णयद्वारा पृथ्बीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने परम्परा समाप्त गरिएको थियो।
करिव दुई महिना पहिला मन्त्रीपरिषद्ले पृथ्बीनारायण शाहको नाम नजोडी पुस २७ गतेलाइ ‘एकता दिवस’ को रुपमा मनाउने निर्णय गरेको थियो। त्यसैले, सरकारी बिज्ञप्तिहरुमा यो एकता दिवससँग पृथ्बीनारायण शाहको नाम जोडिएको छैन।



