यही असोज ५ गतेबाट लामो दूरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालनमा आउने भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
गत चैत ११ गतेदेखि रोकिएको लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान असोज ५ बाट सञ्चालन गर्न दिने निर्णय भएको सरकारको एक मन्त्रीले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । लकडाउन घोषणासँगै लामो तथा छोटो दूरीका सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान बन्द भएका थिए ।
लकडाउन हटेसँगै छोटो दूरीका सार्वजनिक सवारी सञ्चालनमा आए पनि लामो दूरीको सवारी र आन्तरिक हवाई उडान सञ्चालनमा आउन सकेका थिएनन् । मन्त्रिपरिषद्को निर्णयसँगै अब ६ महिनापछि सार्वजनिक सवारी र आन्तरिक हवाई उडान सञ्चालनमा आउने भएका छन् ।



