ठमाडौं । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।
योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।
निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग
तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् ।



