काठमाडौं । सत्ताधारी दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी विवाद समाधानका लागि गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
गत साउन ३० गते विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले शनिबार अपराह्न ४ः४५ बजे अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको बताए ।
कार्यदल सदस्य जनार्दन शर्माले सर्वसहमतिका आधारमा प्रतिवेदन तयार पारेर बुझाइएको जनाएका छन् ।
कार्यदलले पार्टी समस्या समाधानका लागि पहिल्याएको सूत्रबारे केही बताइएको छैन । तर अध्यक्षद्वयको भूमिकालाई यसले फराकिलो बनाएको स्रोतले जनाएको छ ।
कार्यदलले अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदन अब सचिवालयमा पेस हुनेछ । सचिवालयले त्यसलाई स्थायी समितिमा लगेर छलफल गरेपछि आवश्यक परिमार्जन सहित त्यो कार्यान्वयनमा जाने बताइएको छ ।
सत्ताधारी दल नेकपाको विवाद उत्कर्षमा पुगेपछि गत साउन ३० गते यसका अध्यक्षद्वय केपी शर्मा ओलीले विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । जसमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल सदस्य तोकिएका थिए ।
गठित कार्यदललाई सचिवालयबाट अनुमोदन गरेर काम गर्न मार्गप्रशस्त गरिएको थियो ।
सचिवालयबाट अनुमति पाएपछि विभिन्न चरणमा छलफल गरेको कार्यदलले त्यसलाई टुंगोमा पुर्याएर प्रतिवेदन दिएको हो ।
(फाेटाे : नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे फेसबुक पेजबाट)



