काठमाडौं । नेकपाभित्रको अन्तरकलहमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री रामबहादुर थापा बादल फ्याक्टर अहिले रहस्यमय देखिन थालेको राजनीतिक वृत्तमा चर्चा छ । वादल तुलनात्मक रुपमा अहिले दुई अध्यक्षकाे बीच धारमा देखिएका छन ।
दुवै गुटको भेलामा गएका छैनन । तर, पूर्वमाओवादीको एउटा टीमलाई साथ लिएर तेस्रो धार निर्माणमा भने सक्रिय छन । यो धारले अध्यक्ष केपी ओली वा प्रचण्ड कसलाई समर्थन गर्छ अहिलेसम्स प्रष्ट त छैन तर समूह निर्माणमा भने सक्रिय रहेकाे चर्चा छ ।
स्राेतका अनुसार, केही दिन अघि निवासमा बादलले आफूनिकटका केही नेताहरुसँग छलफल गरेका थिए । पार्टी एकता जोगाउने र त्यसका लागि सक्रिय भूमिका निर्वाह गर्ने भन्दै त्यो भेला भएको थियो ।
भेलामा नेकपामा दोस्रो तहका नेताहरु सहभागी थिए । त्यसमध्ये धेरैको धारणा चाहिं केपी ओली र प्रचण्डवीच एकता अनिवार्य भएकाे तर्क गरेका थिए । त्यस भेलामा एक दर्जनजति नेताहरु सहभागी थिए ।
स्राेतका अनुसार, देव गुरुङदेखि महेश्वर दाहालसम्मका नेताहरु सहभागी थिए । तर, आफ्ना भनिएका नेताहरु पम्फा भुसाल, हितमान शाक्यलगायतका नेताहरु भने सहभागी थिएनन् ।
स्रोतका अनुसार, वादल समूहका नेताहरु गुरुङ, भुसाल, शाक्यसहित पूर्ण घर्ति, कुलप्रसाद केसी, सावित्री कुमार काफ्ले, सरस्वति पोखरेल, तारा घर्तिलगायतका नेताहरुले बादलको साथ छोडेका छन् । तर, वादलले पछिल्ला दिनमा हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझीलाई साथ लिने निकै प्रयास गर्दैछन् ।
हिजाे वादलननिकट रहेका र आज टाढिन पुगेकाे स्रोतका अनुसार, पूर्वमाओवादीका नेताहरु प्रचण्ड क्याम्पबाट उछिट्टिए पनि केपी ओली क्याम्प पुगिहाल्न भने नदिने रणनीति बादलले बनाएका छन् ।
सूर्य सुवेदी र महेश्वर दाहाल बाहेक आफ्नाबाट टाढा भएका बादल आफ्नो छुट्टै गुट बनाउने र त्यसलाई आफैले परिचालन गर्ने भगीरथ प्रयत्न गर्दैछन् । पूर्वमाओवादीलाई केपी क्याम्पमा जान नदिनका लागि बादल सक्रिय रहे पनि बादल चाहिं अन्तिम चरणमा कुन गुटमा सहभागी हुन्छ भन्ने चाहिं यकिन छैन ।
गृहका सिडियाेहरूकाे चयन, प्रहरी संगठनकाे सरूवा बढुवामा गृहमन्त्री थापाले न्याय गर्न नसकेकाे, गृहसचिवहरूकाे लहलहैमा चल्ने गरेकाे, शान्ति सुरक्षामा कुनै चमत्कारिक याेजना पस्तुत गर्न नसकेकाे आदि कारणले रामबहादुर थापा गृहमन्त्रीकाे भूमिकामा सफल नमानिए पनि प्रधानमन्त्री केपी ओलीले बादललाई उपप्रधानमन्त्रीसहितको गृहमन्त्री बनाउने आश्वासन दिएको चर्चा पनि छ । २०७७ असारको पहिलो साता बादललाई राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटाएपछि नै यस्तो आश्वासन पाएको स्रोत बताउछ ।
पूर्व माओवादी वृत्तमा चलेकाे चर्चाअनुसार, राष्ट्रपतिसंगको भेटमा मन्त्री बादलले प्रष्ट जवाफ त दिएका थिएनन, तर प्रधानमन्त्रीलाई हरेक मोडमा साथ दिएको भएपनि एमसीसीको मुद्दामा भने साथ नदिने बताएर छुटेको स्रोत बताउछ ।
प्रधानमन्त्रीको खासै आलोचनामा नदेखिएका वादल प्रधानमन्त्री ओलीको आश्वासनकै कारण कतै बादलले गुट निर्मांणको प्रयास गरेका त होइनन् भन्ने आशंका पनि उब्जिएको छ । तर, प्रचण्डले पनि बादलको भूमिकामाथि अहिले खासै चासो नदिएको स्रोत बताउछ ।
–––



