सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । जारी विवाद समाधानका लागि पटकपटक स्थगन गरिएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।
नेकपाका एक नेताले मंगलबार पार्टी स्थायी समिति बैठक बस्न लागेको जानकारी दिए । यसअघिका बैठक सहमति नजुटेको भन्दै स्थगित भएकाले आज निश्चित भने छेन ।
सत्तारूढ नेकपामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विवाद बढेको छ । प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने मत प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत नेताले राखेकोमा प्रचण्ड लचक देखिएका थिए । मंसिरमा महाधिवेशन गर्नेगरी राष्ट्रपतिलाई साक्षी राखेर अध्यक्षद्वयबीच सहमति भएको प्रकाशमा आएको थियो । जसप्रति, माधव, झलनाथ, वामदेव र नारायणकाजी श्रेष्ठलगायतले आपत्ति जनाएको थियो । पछि प्रचण्डको सचिवालयले सहमति नभएको भन्दै त्यसको खण्डन गरेको थियो । आफूनिकटका नेताले असन्तुष्टि जनाएपछि प्रचण्ड व्याक भएको ओली पक्षीय नेताको बुझाइ छ ।
पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल गर्न प्रचण्डले सोमबार बोलाएको बैठकमा अधिकांशले निकास दिन सुझाएका छन् । त्यसैले आजको बैठकमा प्रचण्ड केही लचक भएर प्रस्तुत हुने ठानिएको छ ।



