🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘ कोरोना आएको छ  ! निउरो निउरो भन्दैमा दिन सप्य्रो !! ‘

(बन्दाबन्दीमा कास्की माछापुच्छ्रे गाँउपालिका–२, मेप्राङकी सीमा तामाङ्ग हातमा निउरो लिएर लामाचौरतिर बेच्न जाँदै । तस्वीर : जमुनावर्षा शर्मा/रासस)

चिप्लेढुङ्गा, १४ जेठ (रासस)  । बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको  छ । कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं २  मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन । बिहानै उठ्नु र डेढ घण्टा हिँडेर जङ्गलतिर निउरो खोज्न जानु उहाँको अहिलेको दिनचर्या हो । 

पोखरा महानगरपालिका–१९, लामाचौरको सडकमा हातभरि काली निउरो लिएर बेच्दै गर्दा भेटिनुभएका तामाङ्गले आफूलाई बन्दाबन्दीले खासै असर नगरेको बताउनुभयो । उहाँले भन्नुभयो “कोरोना आएको छ भनेर लकडाउन भएको रे, हामी त गाउँमा काम गर्छाैं, एक दिन निउरो खोज्न जान्छाैं, अर्को दिन निउरो बेच्न आउँछौँ, निउरो बिकिहाल्छ, समस्या छैन ।” उहाँ कहिले एक्लै त कहिले साथीभाइसँग निउरो खोज्न जाने गर्नुहुन्छ ।  निउरोले बन्दाबन्दीमा पनि दिन सप्रिएको उहाँको भनाइ छ । 

 बिहान काली निउरो पछ्यौरामा बाँधेर बिक्रीका लागि बजार झर्नुभएका उहाँले भन्नुभयो, “म बिहान ५ बजे साठी मुठा निउरो लिएर बेच्न बजार झरेकी हुँ, पाँच घण्टा लाग्यो, पचास मुठा बेचिसकेँ, अब दश मुठा बाँकी छ, एक छिन यतै बसेर बेच्छु ।” उहाँले एक मुठा निउरोको रु ५० मा बिक्री गर्नुभएको छ ।

“अहिले निउरो पाइने याम हो, हरेक वर्ष म निउरो टिपेर बिक्री गर्ने गर्छु, हरेक याममा ६० हजार रुपियाँ जतिको निउरो बिक्री गर्दै आएकी छु, दिनमा लगभग तीन हजारको निउरो बिक्री हुन्छ ।” त्यसो त उहाँले टुसा पाइने समयमा त्यसको व्यापारसमेत गर्दै आएको बताउनुभयो । निउरो र टुसाको व्यापारबाट वार्षिक रु एक डेढलाख जति कमाइ हुने उहाँको भनाइ छ । 

उहाँ निउरो टिप्न खासै गाह्रो नहुने तर सिस्नो र जुकाबाट भने जोगिनुपर्ने बताउनुहुन्छ । “वर्षा याममा निउरो जति पनि पाइन्छ तर जुकाले टोक्ने र सिस्नोले पोल्ने गर्छ, डेढ घण्टाको जङ्गलमा बिहान ७ बजे गएर निउरो लिएर फर्कँदा बेलुका ६ बज्ने गर्छ ।” 

लामो समयदेखि पोखराको चिप्लेढुङ्गामा निउरोको व्यापार गर्दै आउनुभएकी सन्तु क्षेत्रीले यस याममा भने पर्याप्त निउरोको व्यापार गर्न नपाएको बताउनुभयो । “म यो सिजनमा निउरो मात्रै व्यापार गर्थेँ तर अहिले बन्दाबन्दीले गाउँबाट निउरो झरेको छैन, केहीले आफँै टिपेर  बिक्री गर्दै आएका छन् । हामीले पर्याप्त खरीद गरेर बिक्री गर्न पाएका छैनौँ”, निउरो व्यापारी क्षेत्रीले भन्नुभयो । 

पोखरा आसपासका तालतलैया र जङ्गलका झाडीमा निउरो पाइन्छ ।  चिप्ले निउरो र मोटो डाँठ भएको काली निउरो दुई खालका हुन्छन् । विशेष गरी अचार र  तरकारी खान मोटो डाँठ हुने निउरो ग्राहकले खोज्ने गरेको क्षेत्रीको भनाइ छ ।

विभिन्न क्षेत्रका व्यापारीसँग निउरो खरीद गरेर रु ८० देखि एक सयसम्म बेच्ने गरेको र यस याममा जम्माजम्मी तीन सय मुठा  मात्र बेच्न सकेको उहाँले बताउनुभयो । निउरो खरीद गरिरहनुभएका पोखरा ८, न्यूरोडकी शर्मिला गुरुङले भन्नुभयो, “निउरोको अचार र तरकारी स्वादिष्ट हुन्छ ।”