बागलुङ, ९ पुसः बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ माघ १६ देखि २४ गतेसम्म बाङ्गेचौर र भकुण्डे खेल मैदान बाग्लुङमा हुनेछ।
नगरपालिका आँफैले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिनका लागि ४ नं प्रदेशका सबै नगरपालिकालाई आमन्त्रण गरिएको छ । “खेलकुद विकासलाई प्राथमिकतामा राखेर प्रतियोगिता राखेका हौँ”, नगरपालिका प्रमुख जनकराज पौडेलले भने ।
प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच-पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पुग्ने समूहलाई दैनिक भत्तासमेत व्यवस्था गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघले सहयोगी भूमिका खेल्नेछन् । प्रतियोगितामा ४ नं प्रदेशका १२ भन्दा बढी नगरपालिकाबाट खेलाडी सहभागी गराउने लक्ष्य लिइएको छ ।



