रत्ननगर, २४ वैशाख (रासस) : कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ ।
स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन नसक्दा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो । चितवनमा गत चैत २४ गतेदेखि सो प्रयोगशाला सञ्चालनमा आएको हो । तर किट अभाव भएपछि चितवनबाट सङ्कलन भएका नमूना परीक्षणको लागि बाहिरी जिल्ला पठाउन बाध्य भएका छन् ।
“नेपालमै किटको अभाव भएकाले मन्त्रालयले समयमा किट पठाउन नसकेको बताइएको छ”, प्रमुख डा अधिकारीले भन्नुभयो, “हामीले अहिले पनि एक महिनाको लागि भनेर एक हजार २०० थान किटको माग गरेका छौँ ।” यसअघि पहिलोपटक पठाएको ३८३ वटा किट सकिएपछि थप ४०० किटको माग गर्दा मन्त्रालयले जम्मा १०० थान किट पठाएको उहाँले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार १०० वटा किटले चितवनमा जम्मा दुई दिन मात्रै परीक्षण गर्न पुग्छ । प्रयोगशाला स्थापना भएको एक महिना पुग्नै लाग्दा हालसम्म दुईपटक गरेर जम्मा ४८४ वटा मात्रै पिसीआर किट चितवन आएको छ । “चितवनमा दैनिक सरदर ४० देखि ५० वटा किट खपत हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले बढी नै किट माग गर्ने गरेका छौँ, तर मन्त्रालयबाट नेपालमै किट अभाव भएको बताइएको छ ।”
सोमबार पनि चितवनमा १२ वटा स्बाव नमूना परीक्षणका लागि सङ्कलन भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्कलन भएको नमूनालाई हेटौँडा पठाइएको थियो । हेटौँडा प्रयोगशालाबाट सबै नमूनाको नतिजा नेगेटिभ आएको छ ।
४३ हजार घरपरिवारले लिए राहत
चितवनमा लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका ४३ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । एक महिनाको अवधिमा जिल्लाका स्थानीय तहले ४३ हजार २३९ घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकाले राहत वितरण गरेको छ । महानगरपालिकाले पहिलो चरणअन्तर्गत १५ हजार ३७० परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो ।
त्यसपछि खैरहनी नगरपालिकाले आठ हजार १०१, राप्ती नगरपालिकाले छ हजार ५८२, रत्ननगर नगरपालिकाले पाँच हजार ७४६, कालिका नगरपालिकाले तीन हजार ७५०, माडी नगरपालिकाले दुई हजार र इच्छाकामना गाउँपालिकाले एक हजार ८९० घरपरिवारलाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्ने र अतिविपन्न समुदायलाई स्थानीय तहले वडा–वडाबाट राहत वितरण गरेको उहाँले बताउनुभयो । राहतमा १५ किलो चामल, दाल, नुन र तेल वितरण गरिएको थियो । दास्रो चरणको राहत वितरणका लागि पनि स्थानीय तहले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।



