कोरोना महामारीसंग लडन आफू पनि महासंकट झेलिरहेको भारतले नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेर दुखकाे मित्र अनि एक असल छिमेकीको कर्तव्य पूरा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते 'सार्क कोभिड–१९ आपतकालीन कोष'मा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यहीक्रममा नेपालले पनि हाललाई २३ टन औषधि सहयोगका रुपमा प्राप्त गरेको छ ।
कुनै छिमेकीले दिएको उक्त परिणामको औषधि संभवत नेपालका लागि सबैभन्दा धेरै हो । भारतलगायत विश्व समुदाय कोरोना महामारीको संकटसंग जुझिरहेका बेला हामीसंग पर्याप्त तयारी र औषधि लगायत स्वास्थ्य सामाग्रीको अभाव छ । महामारी आतंक मच्चाएको चार महिनासम्म पनि सरकारले पर्याप्त औषधिको जोहो गर्न सकिरहेको छैन । तीन महिना अघि नै खरिद गर्ने भनिएको औषधि र स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया थालेसंगै अनियमितता भएकाे हल्ला स्वास्थ्यका माफियाहरूले गरेपछि सरकारले त्यो खरिद प्रक्रिया पूरा गर्न नसकेको बेला भारतले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको औषधिले नेपाली जनतालाई ठूलो राहात दिने विश्वास गरिएको छ ।
भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि आपसी सहकार्य गर्दै आएका छन । महासङ्कटको यस बेला नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ सहयोग आदान-प्रदान गर्न भारतीय प्रतिबद्धता पनि व्यवहारिक रुपमा कार्यान्वयन भइनैरहेको छ ।
कोरोना महामारी नियन्त्रणका लागि विश्व समुदाय 'लकडाउन'को कठिन अवस्थाबाट गुज्रिरहेको छ । यति बेला सबै देश महासंकटबाट पार पाउन चिन्तित छन । नेपाल र भारत पनि महासंकटले उत्पन आन्तरिक कठिनाइहरु झेलिरहेका छन । आफ्नो देश र जनताका बारेमा बाहेक अरु देशका जनताका बारेमा सोच्ने कसैलाई पनि फुर्सद छैन । देशभित्रै पनि एउटा शहरले अर्को शहर र एउटा परिवारले अर्को परिवारका बारेमा समेत सोच्न नसकिरहेका बेला भारतले आन्तरिक चुनौतीका चाङका बाबजुद पनि छिमेकी मुलुकहरुलाई कोरोना विरुद्धकाे लडाइँमा हरसम्भव मद्दत गर्नुले असल छिमेकीको भावनालाई दर्शाएको छ । असल नियत र कामका लागि भारतीय जनता र सरकार धन्यवादकाे पात्रमा
दर्ज भएका छन् ।
यसका अतिरिक्त भारतले सीमा जोडिएका सबै देशहरुसंग कोरोना भाइरसको असर न्यूनीकरण, रोकथामको पूर्वतयारी तथा सहजीकरण गर्न सक्रियता देखाएको छ । यो सक्रियता अन्य देशको तुलनामा नेपाली सिमानामा बढी छ । सदियौंदेखि भारतसंग हाम्रो रोटी र बेटीको सम्बन्ध रहँदै आएकाे छ । नेपाल-भारत जस्ताे संस्कार, संस्कृति, सामाजिक चालचलन र व्यवहार सायद विश्वका अन्य मुलुक र छिमेकीहरूमा कमै हाेलान् ।
नेपाल र भारतको सम्बन्ध केलाउँदा यी दुई देश बीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भौगोलिक आयामहरु छन । शाक्यमुनि गौतम बुद्ध, गोरखनाथ, किराँत शासन, महाभारत युद्ध, धार्मिक मठमन्दिरजस्ता सन्दर्भमा नेपाल र भारत एकअर्कामा जोडिएका छन् । भारतवर्षका चम्किला नक्षत्रहरूको तपोभूमि यही हिमवात्खण्डअन्तर्गतको नेपाल रहेको विदितै छ । इतिहासका यी र यस्ता धेरै घटनामा दुई देशले अन्तर्सम्बन्धलाई पुष्टि र परिभाषित गरेका छन् । इतिहासका विभिन्न कालखण्डमा नेपाल र भारतले कठिनतम् समयसमेत भोगेर संगसंगै सामाना गर्दै आएका छन् ।
नेपाल–भारतबीचको सबैभन्दा मजबुत सम्बन्ध भनेको सामाजिक सम्बन्ध नै हो, जसलाई नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध भन्ने गरिन्छ । यसभित्र पारिवारिक, आर्थिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, कामदारहरु आदानप्रदानका सम्बन्धहरु पर्दछन् । खुला सीमा भएकै कारण नेपाल–भारतबीच यो सम्बन्ध निकै मजबुत छ । यस्तो एतिहासिक पृष्ठभूमीका बीच पनि विभिन्न समयमा नेपाल भारत बीच स साना असमझदारीहरु देखा पर्ने गर्दछन तर ती असमझदारीहरु छोटो समयमै हटने पनि गरेका छन ।
बोलीभाषा, रहन सहन र धर्म – संस्कृतिमा पनि हाम्रा समानता छन । त्यस्तै विभिन्न समयमा हामी बीच केही समान प्रकृतिका समस्याहरु देखा पर्दछन । यही सन्दर्भमा अहिलेको कोरोना महामारी पनि एक हो । तसर्थ, कोरोना महामारीसंग नेपाल–भारत मिलेर सामना गर्नुपर्ने आवश्यकता मात्र छैन, बाध्यता नै आइपरेकाे छ ।
भारतका लागि आफ्नै ठूलो जनसङ्ख्या तथा विशाल भूमिमा कोराना सङ्क्रमण नियन्त्रण गर्न सहज नभए पनि नेपाललाई हुँदैआएको सहज आपूर्तिमा भारतबाट व्यवधान उत्पन्न हुनेछैन भन्ने कुरामा नेपाल सरकार र नेपालीहरू विश्वस्त छन् ।
अहिले मुख्य आवश्यकता औषधि र स्वास्थ्य सामाग्री त हो नै यसका साथसाथै दैनिक खाद्यान्न, इन्धनदेखि विभिन्न अत्यावश्यकीय बस्तुको आयातको नियमितता अर्को महत्वपूर्ण आवश्यकता हो । लकडाउनको यस अवधिमा भारतबाट ती बस्तुहरुको आयात सुचारु रहेका छन । महासंकटमा कतिपय देशहरुमा अतिआवश्यकीय बस्तुहरुको आयात निर्यातमा अवरोध हुनेगरेको भएपनि नेपाल- भारत बीच यो समस्या नदेखिनु यसलाई एक असल छिमेकीको असल व्यवहार प्रस्तुत भएको मान्नु पर्छ ।
यसअघि नेपालमा भएका प्राकृतिक प्रकोपमा भारतले देखाएकाे तत्परता र गरेको सहयोगलाई नेपालीले उच्च सम्मानका साथ संस्मरण गरेका छन् । वर्तमान महासङ्कटमा पनि नेपाल–भारतको सहकार्यले दुबै देशमा कोरोना महामारी नियन्त्रण गर्ने चुनौतीका बीच असल छिमेकीको सन्देश दिन सकिने अवसर यतिबेला दुबै देशका सामुन्ने छन् । याे महासंकट पछि पनि दुबै देशले भाेग्न बाध्य हुनु पर्ने चरम आर्थिक समस्यामा पनि दुबै देशले संवेदनशील भएर सामान गर्न तयारी हालतमा बस्नु पर्ने आवश्यकता रहेकाे छ ।



