प्रधानसेनापतिज्यू हजुरको करिब २० महिनाको कार्यकालमा नीतिगत रुपमा कागजमा धेरै काम भएको पाइन्छ । त्यस्तै सांगठानिक सुधारमा देखिनेगरी जुन काम भएका छन्, त्याे नेपाली सेनाको लागि खुसीको कुरा हो । तपाइँकाे ३ वर्षे कार्यकालमा लिइएकाे कार्यलाई लक्षमा पुर्याउन सहज हुने देखिन्छ । तर, आजसम्म जे जति नियम कानून बनेको छ केवल कागजमा मा मात्र सीमित भए कि ब्यवहारमा पनि कडा रूपमा आफ्ना र अर्का नभनी कुनै लागू भए त भन्ने प्रश्न गर्ने ठाउँ चिफ साबकाे नेतृत्वबाट भएका केही 'एक्सन'ले दिएकाे छ । अधिकृत वृत्ति विकासकाे कुरा हाेस् वा अनुशासन र जवानको सुविधाको केवल प्रचार प्रसार र कागजमा मात्र सीमित छ कि अब मूल्यांकन गर्दा राम्राे हाेला कि ?
अधिकृत वृत्ति विकास, अनुशासन वा जवानको सुविधाको कहिले हो लागू हुन्छ त ? उदाहरणका लागि चिफ साबकाे करिब २० महिनाको कार्यकालमा आर्थिक हिनामिनाको सम्बन्धमा धेरै पटक पढ्न र सुन्न पाईयो । तर, प्रमुख सेनानी(कर्णेल) केशव कार्कीलाई बलिको बोका बनाइयाे । तर, त्यही प्रकृतिकाे अनुशासनहीन काम गर्ने अरु अधिकृतलाई किन छुट दिइयाे ? कर्णेल कार्कीलाई सैनिक समरी अदालतले सजाय सुनाएको भोलिपल्ट सबै जसो दैनिक पत्रिकामा आएको थियो प्रधानसेनापति पूर्णचन्द्र थापा आर्थिक हिनामिनामा 'शून्य सहनशीलता …।' तर आज २०७७ वैशाख ११ गतेसम्म नेपाली सेनाका दाेषी अधिकृतहरू ककसलाई के के कारवाही गर्नु भयो ? सार्वजनिक हाेस्। तर, प्रधानसेनापतिज्यू, हामीलाई स्मरण भएसम्म सैनिक शिक्षण पक्षको कर्णेल विदुर अधिकारीले जवानहरुसंग करिब २५ लाख उठाएर परीक्षा पास गरिदिन्छु भनेको प्रमाण सहित जवानहरुले प्रतिवेदन गर्दा किन कुनै कारवाही भएन ? कारवाहीबाट बचाएर राजीनाम माग्नु भयो र पेन्शन पठाउनु भयो ? किनकि तपाईको आमाको दाजुको छोरा ( मावली खलक नातेदार, लम्जुङ्ग जिल्ला घरको भएर) दाजु /भाई पर्ने भएर हाेइन त ?
त्यसैगरि तपाई प्रधानसेनापति भएको करिब २ महिना पछि काली बहादुर गणको जवानले अमेरिकन हतियार सहित ड्युटीबाट भागेर बाहिर लागि नेपाल कमुनिस्ट पार्टी ( विप्लप )लाई रु ६ लाखमा बेच्दा गणपति लगायत दोषी उपर छानबिन हुँदा सबै दोषी ठहरे पछि गणपतिलाई कुनै कारबाही नगरी राष्ट्पतिको प्रमुख ए. डी.सी. का लागि नियुक्त गरि पठाइयाे हाेइन ?
अरुलाई दाेषी ठहर गर्दै जेल चलन गर्ने तर ती कर्साबलाई कारबाही नगर्नुको कारण अधिकारी मावली गाउँले भएर हाे कि ? कि प्रधानसेनापतिको बुबा कर्नेल फडिन्द्र थापा पाइनियर गणको गणपति हुँदा निज अधिकारीको बुवा सेनानी पुरूषाेत्तम अधिकारी पाइनियर गणको सहायक गणपति थिए, त्यस कारण निजलाई ग्रेड कट्टा मात्र गरेर सफाई दिइएकाे हाे कि ? तर, चिफ साब सैनिक नियममा त हतियार हराउने, बेच्नेलाई आजीवन कैद सजाए छ हाेइन र ?
करिब ५ महिना अगाडि मात्र द्वन्द्वकालमा हतियार सहित भागेको नेपाली सेनाको जवान तात्कालीन जन सेनामा गएको व्यक्तिलाई करिब २० वर्ष पछि समाएर सैनिक अदालतले २५ वर्ष जेल हालेको रेकर्ड छ भने निज कर्नेललाई खासै कारबाही किन भएन त प्रधानसेनापतिज्यू ?
त्यस्तै विगत ५ महिनादेखि वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा आर्थिक हिनामिना गरेको भनि अनुसन्धान परेका महासेनानी भूपालमान अधिकारीलाई 'कोइ'. बोर्डले करिब २ करोड ५० लाखको हिनामिना गरेको प्रमाण सहित प्रधानसेनापतिज्यू समक्ष प्रतिवेदन गर्दा पनि विगत ३ महिनादेखि कारवाही नगर्नुलाई के भन्ने ? यी सबै घटनाहरू सेनाका सचेतअधिकृतहरुले शंकाको दृस्टिले हेरिरहेका छन् । निज महासेनानीलाई पनि अधिकारी भएकै कारणले कारवाही नगरेकाे हो कि भनेर शंका लाग्याे । किनकि उनी पनि चिफ साबका मावली खलक नै परे क्यारे !
कर्नेल केशव कार्कीलाई त १ महिना भित्रमै हाम्राे हेडक्वार्टरले जेल पठाइसकेको थियो । कारबाही गरेको दिन जनसम्पर्क निर्देशनालयका निर्देशकलाई तुरुन्त पत्रकार सम्मेलन गरि सार्वजनिक गर्न हजुरले निर्देशन दिनुभएको थियो है न त प्रधानसेनापतिज्यू ? ५ महिना बित्दा पनि अधिकारी कर्साबलाई कुनै कारबाही कारण के हो त ? यसबाट चिफसाब हजुरले पनि प्रधानसेनापति पूर्णचन्द्र थापाबाट नेपाली सेनामा कसैलाई काखा कसैलाई पाखा गरेको थिएन भन्ने इतिहास रहने भएन ।
तपाइँ भन्दा पहिलाका नेपाली सेनाका चिफहरूले जसरी काखापाखा गर्दै भेदभावकाे नीति अंगाल्दै अवकास भएका थिए हजुरकाे पनि त्यही इतिहास दाेहाेरिने चिन्ता हामीलाइ लागेकाे छ । हजुरकाे बाँकी १६ महिनाकाे कार्यकालले यस्ताे काखापाखा नीति अंगाल्ने छैन भन्ने विश्वास र अपेक्षा राख्दै कार्यकाल सफलताकाे शुभ कामना ।
–नेपाली सेनाको भलो चाहने सैनिक अधिकृतहरू



