काठमाडौं । पूर्वपञ्चबीच चलिरहने शृंखला छ– फुट, जुट अनि फेरि फुट । बिना जनाधार पनि राजनीति गर्न रहेका गरिरहका पूर्वपञ्चहरू स्वार्थको सानो छेस्कोले घोचेकै कारण टुट–फुटको नियति झेल्दै आइरहेका छन् । ०७४ यता सत्ताको किनारामा पुगेका पूर्वपञ्चहरू केही समययता एकताको कसरतमा लागेका छन् । यद्यपि, पछिल्लो पटक भने यसले आकार लिने सम्भावना बढेर गएको छ ।
पूर्वपञ्चबीच यसअघि मोटामोटी सहमति जुटेको थियो । तर चुनाव चिह्न के राख्ने भन्ने मामुली विषयमा कुरा मिल्न नसक्दा त्यसले मूर्तरूप लिन सकेको थिएन । कमल थापा गाई र पशुपति शमशेर राणा हलोमा टसको मस नभएपछि एकता टरेको थियो । तर, वेरोजगार पूर्वपञ्चहरू फेरि एकताका लागि सक्रिय हुन थालेका छन् ।
स्रोतका अनुसार, नयाँ बन्ने पार्टीको सिद्धान्त र एजेन्डाबारे सहमति बनिसकेको छ । विगतका तिकडम र जालसाजी, जुन पूर्वपञ्चको पहिचानजस्तै थियो, अबका दिनमा पनि यसको पुनरावृत्ति हुने ठूलो डर पूर्वपञ्च खासगरी कमल थापाइतरकालाई छ । विगतमा जंगेशैली अपनाएको आरोप खेपेका स्वयं कमल थापाले कार्यशैली सुधार्ने वाचा गरेको बताइन्छ । तथापि, दुवै पक्षले चुनाव चिह्नलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
कमल थापाले गाईप्रति मायामोह दर्शाएका छन् भने पशुपति र लोहनीको दुःख पनि उस्तै छ । तर विगतमा चुनाव चिह्नका कारण रोकिएको एकतालाई फेरि बल्झाउन नहुने मनस्थितिमा पूर्वपञ्चहरू छन् । त्यसैले चुनाव चिह्नको मामला मध्यमार्गी विकल्प अँगालेर भए पनि टुंगाउनुपर्ने दबाव एकताका पक्षधर नेताहरूले दिइरहेका छन् ।
स्रोतका अनुसार चुनाव चिह्न निकै पेचिलो बनेकाले यसलाई महाधिवेशनबाट टुंगाउनुपर्ने विकल्प एकथरीले अघि सारेका छन् । यो विकल्पमा उतिधेरै विमति नभए पनि महाधिवेशनमा चुनाव चिह्नबारे मतदान गर्दा कार्यकर्तामा विभाजन हुने चिन्ता कतिपयले गरेका छन् । त्यसैले तत्काल पार्टी एकता गरेर महाधिवेशन अगावै त्यसलाई टुंगाउँदा उचित हुने अर्को विकल्प एक पक्षले दिएको छ ।
यो विकल्प भरपर्दो भएकाले यसमा सहमति जुट्ने सम्भावना प्रवल रहेको एकताबारेको छलफलमा संलग्न एक नेताले जानकारी दिए । तर, कमल थापाका कारण एकता प्रक्रियामा विलम्ब भएको बताइन्छ । कमल थापाको अडानले भन्दा पनि उनी छलफलमा सहभागी हुन नसक्दा एकताबारेको छलफल केही सुस्त बनेको हो । थापा छलफल प्रक्रियामा जुटेसँगै एकता प्रक्रिया टुंगिने बताइएको छ । स्र्रोतका अनुसार राप्रपा नेताहरूले एक साताभित्रै गुड न्युज आउने भन्दै कार्यकर्तालाई त्यसको प्रतिक्षा गर्न भनेका छन् ।



