(नयाँमा सबैकुरा रहर लाग्छ । जोश पनि बेग्लै लाग्छ । तर बिस्तारै एउटै कुरा दोहोरिन थालेपछि बल्ल वाध्यतामा पर्दै जान्छ मान्छे । छोटो उमेरमै त्यो वाध्यता महसुस गर्ने सडक पाइलट हुन् मनिष कार्की । उमेरले उनी २२ वर्षका भए । तर उनी परिपक्व सडक पाइलट भइसकेका छन् । उनी बस हाँक्छन् । सिन्धुपाल्चोकका यी लक्का जवानको जीउडाल खाइलाग्दो नभए पनि जोश भने अजबको छ । बा ४ ख ३६२४ नम्बरको गाडीका चालक मनिषलाई गाडी चलाउन थालेको छोटो समयमै यो पेशाप्रति वितृष्णा जागेको छ । आखिर किन त । मनिषले सडक पाइलटसंगको अन्तरंगमा साँघु प्रतिनिधिसंग गाडी लाइनका सबल र दुर्वल पक्ष केलाएका छन् । – सम्पादक)
० गाडी चलाउन थालेको कति भयो ?
–दुई वर्ष भयो ।
० ढोकामा पनि बस्नुभयो ?
–बसें । तीन महिना बसें ।
० कसरी आउनु भयो त यो लाइनमा ?
–सानो बुबा हुनुहुन्थ्यो गाडीलाइनमा । बस चलाउनु हुन्थ्यो । जाउँ हिँड् भन्नुभयो । केही समय हिँडें । त्यसपछि लत बसेजस्तो भयो ।
० गाडी लाइनमा आउन रहर लाग्या थियो र ?
–स्कूलमा पढ्दा रहर लाग्थ्यो । तर यता आउँला भन्ने छँदै थिएन । मेरो बुबा डोजर चलाउनु हुन्छ । तर उहाँले जहिले पढ्नु पर्छ । ठूलो मान्छे बन्नुपर्छ भन्ने । मैले एसएलसी दिएर बँचेको तीन महिनामा गाडी सिकें । त्यसपछि गाडी चलाउँदै पढ्दै गर्न थालें ।
० कति पढ्नु भयो ?
–१२ कक्षासम्म त पढें ।
० सक्नुभयो त ?
–होटल म्यानेजमेन्ट पढ्दै थिएँ । कलेज गयो भने साथीभाइले ड्राइभर भनेर जिस्काउन थाले । अनि परीक्षाका लागिमात्र जान थालें ।
० किन पूरा गर्नुभएन त पढाई ?
–ब्याक लाग्यो अनि पढ्ने मनै लागेन ।
० अनि बुबाको सपना ?
–बुबाले त जहिले पढ् मात्र भन्नुहुन्थ्यो । अब खल्तीमा पैसा नटुट्ने । जे गरे पनि गर्ने नै हो भनेर गाडी नै चलाउन थालें । पढाईले भन्दा पैसाले तान्यो ।
० सन्तुष्ट हुनुहुन्छ ?
–अहिले त छैन । ठीकैमात्र लागेको छ । सम्मान नहुँदा अहिल्यै छोडौं जस्तो लाग्छ ।
० किन सम्मान छैन ?
ट्राफिक प्रहरीले पनि सारै हेप्छ, रेस्पेक्ट दिन्न । यात्रुले पनि दिन्नन् । ट्राफिक प्रहरीले मनलाग्दो तरिकाले चिट काट्छ । कार्वाही गर्छ । हुन त हामीले पनि गाडी रोक्छौं र मान्छे चढाउँछौं । तर, कामै यही भएपछि गाडी रित्तो दौडाउन त भएन नि । यसो रोक्यो कि चिट् काट्छ । पाँच सय रुपैयाँ गइहाल्छ । साहुलाई के भन्नु भनेर हामी आफैले मिलाउँछौं । दिनको सय छुट्ट्याउँदा पनि पाँच दिनमा त चुक्ता हुने । तर, ट्राफिक प्रहरीले ड्राइभरलाई देखि नसहने राम्रो भएन । यात्रु पनि त्यस्तै छन् । भनेको ठाउँमा नरोके गाली खानुपर्छ ।
० बच्चा चालक भनेर पनि हेप्छन् कि ?
–त्यो पनि हुन सक्छ । ट्राफिक प्रहरीले पनि त्यही भनेर लाइसेन्स माग्दो हो । तर म २२ वर्षको भइसकें । यात्रु पनि त्यस्तै छन् । खलासीसंग बाझाबाझ नै गर्छन् । तँ तँ र म म नै चल्छ ।
० खलासीहरूको भाषा त ठीक छैन नि हगि ?
–गाडी लाइन भनेकै त्यस्तै रै’छ । जथाभावी बोल्ने । स्टाफ खास राम्रा छैनन् । नपढेका र त्यस्तै खालका बिग्रेका मान्छे यो लाइनमा भएर पनि होला । गाँजा खाने, मापसे गर्ने, कोही ट्याप पनि खाने । यस्ताहरू भएकाले गर्दा नै गाडीलाइन बद्नाम पनि छ । यिनीहरूले गर्दा गाडीलाइन राम्रो हुनै सक्दैन । यही कारणले गर्दा पनि गाडीलाइन नै च्वाट्टै छोडौं जस्तो लाग्छ ।
० के गर्ने त अब नपढ्ने ?
–पढ्नु पर्ने त हो । तर ल्याङ्ग्वेज पढेर विदेश जाउँ कि भन्ने सोच छ । भाषा जानियो भने राम्रो देशमा गएर काम पाइन्थ्यो कि । १२ भन्दा ल्याङ्ग्वेज पढ्ने मन हो । तर १२ पनि जसरी भए पनि गर्नुपर्नेछ । १२ पास गरे ड्राइभरको पनि राम्रो जागिर पाउँछ रे ।
० कसले भनेको ?
–पूर्व मन्त्री भीम आचार्यले । उहाँको स्कार्पियो गाडी चलाएँ ३ महिना त्यसपछि सहमतिमै मैले गाडी चलाउन थालें । त्यतिबेला आफ्नै ट्याक्सी किनेर चलाउने सोच थियो । कुरा मिलेन । आचार्य सरले मलाई १२ पास गर म राम्रो ठाउँमा जागिर लगाइदिन्छु भन्नुभएको थियो । मैले मेरो ठाउँमा साथीलाई लगेर राखिदिएको थिएँ । पछि पनि भेट भएको थियो । राम्रो थियो ।
० के गर्ने त त्यसो भए ?
–१२ नै पास गर्नुपर्ला । यो गाडी चलाएर केही होला जस्तो लाग्दैन । केही क्षणको रमाइलो मात्र हो । अहिले पो बिहे भएको छैन । बिहे भएपछि झन् गा¥हो हुन्छ कि ।



