फ्रान्सका सर्वशक्तिमान शासक बनेका नेपोलियन बोनापार्ट भन्थे, असम्भव केही छैन । अनि, राजनीतिमा पनि असम्भव भन्ने शब्द हुँदैन । अर्थात्, राजनीतिमा असम्भव भन्ने चिज नै हुँदैन । डा. बाबुराम भट्टराईले सूर्य चिन्ह ग्रहण गरेको पनि देखियो, त्यो चिन्ह त्यागेको पनि देखियो, कांग्रेस सरह भएको पनि देखियो । शेरबहादुर देउवालाई मार्न माओवादीले निकै प्रयास गरेको थियो, उनै शेरबहादुर देउवा र प्रचण्ड मिलेको पनि देखियो । केपी ओली र प्रचण्डको कटाक्ष र भिडन्त पनि देखियो । अहिले उनै ओली र प्रचण्डले का“ध र हातमात्र जोडेका छैनन्, आन्द्रा नै गाँसेका छन् । अनेक देखियो !
राजतन्त्रको सूर्यास्त कहिल्यै हुँदैन भनिठान्नेहरु थिए, महाराजा ज्ञानेन्द्रको वनवास पनि देखियो । महाराज ज्ञानेन्द्रले शासन हातमा लिंदा अब यिनले ३० वर्ष शासन चलाउँछन् भन्दै पछि लाग्नेहरुको विजोग पनि देखियो । एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए, संविधान सभामा जोडदार भाषण दिए । सारा नेपालीले हाईहाई गरे । चुनाव उठ्न मिल्ने भए मोदीले नेपालमै चुनाव जित्छन्, त्यति लोकप्रिय छन् भन्नेहरु पनि देखिए । उनै मोदीले नेपाललाई नाकावन्दी लगाएको पनि देखियो ।
अर्थात्, राजनीतिमा असम्भव भन्ने केही छैन । नुहुँदो रहेछ । अमेरिका र भियतनाम युद्ध पनि देखियो, अहिले अमेरिका र भियतनामले घाटी जोडेको पनि देखियो । अचम्मै हुन्छ राजनीतिमा । राजनीतिका अचम्म हेर्दा भन्न मन लाग्छ, यो अचम्मको युग हो । अहिलेलाई चाहिं चुनावी अचम्मको कुरा गरौं ।
गत स्थानीय चुनावका बेला कांग्रेसको फुर्तिफार्ति बेग्लै थियो । सरकारको नेतृत्वमा देउवा भर्खरै पुगेका थिए, त्यसैले फुर्ति हुने नै भयो । कांग्रेस र माओवादीले केही स्थानीय निकायमा चुनावी गठबन्धन गरेका थिए । उनीहरुको हौसला बुलन्द थियो तर परिणाम चाहिं हावा आयो । रमाइलो त के छ भने त्यसबेला कांग्रेसले माओवादीसंगको सहकार्य र तालमेल प्रतिनिधिसभा चुनाव, प्रदेश सभा चुनाव र त्यसपछि सरकार निर्माणसम्म निरन्तर रहने भनेको थियो । कांग्रेस र माओवादी मिलेर एमालेलाई पछार्लान् कि नपछार्लान् भन्ने प्रश्नमा छलफल हुन थालेको थियो ।
एमालेलाई सिनिक्क पारिन्छ भन्दै कांग्रेस मख्ख परिरहेको थियो । तर, अचम्मको राजनीतिमा विचित्र भयो † भित्रभित्रै खिचडी त अर्कै पो पाकिरहेको रहेछ । एमाले र माओवादीले भित्रभित्रै ६० र ४० को भागवण्डा मिलाइसकेछन् । वाम गठवन्धनको घोषणा हु“दा कांग्रेस अचम्भित र चकित भयो । त्यसपछि बेहोस भयो । होस सम्हालेर उठ्यो र अर्धबेहोसीमा एकतन्त्रीय तानाशाही साम्यवादको सुगा रटान गर्न थाल्यो ।
कांग्रेस असाध्यै बाठो भएको थियो, लाटो एक बल्ड्याङ्ग बाठो तीन बल्ड्याङ्ग भन्ने उखान चरितार्थ भयो । कांग्रेसले नराम्रोसंग बल्ड्याङ्ग खायो । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । आचार संहितादेखि लिएर नीति नियम सबै मिचेर भटाभट निर्णय ठोकिरहेका छन् । राज्यसत्ता नै हातमा लिएका छन् । तैपनि उनको रुवावासी छ, केही सातापछि वर्षाैंका लागि देउवासहित नेपाली कांग्रेसले सत्ता बाहिर बस्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउँदैछ । आँखा झिमिक्क गरेको निमेष भरमै कांग्रेसको सत्तासयर दुस्वप्नमा परिणत भएको छ । बेहाल छ अहिले कांग्रेसको ! अहँ, चुरीफुरी केही छैन, तिनको चुनाव प्रचार पनि असाध्यै फिक्का छ, लुते पाराको छ ।
दुई महिना अघि भएको जापानको चुनावमा डेमोक्रेट पार्टी सिनिक्कै भएर सकिएको छ । सिन्जो आवे नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टीले दुई तिहाई ल्याएको छ । भारतमा कांग्रेस आईले प्रमुख प्रतिपक्षी बन्न चाहिने दस प्रतिशत सिट पनि ल्याएन । जापानको डेमोक्रेटिक पार्टी र भारतको कांग्रेस आईकै पथमा नेपाली कांग्रेस गएको हो कि ? कांग्रेसको हालत त्यस्तै हुन लागेको हो कि ? हरे ! गत संविधान सभाको चुनावको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको बारेमा यस्तो प्रश्न उठाउनु पर्ने अवस्था आयो । राजनीतिमा यस्तैयस्तै अचम्म भइरहन्छ ।
चुनावमा वाम गठवन्धनले बहुमत ल्याउने मात्र होइन दुई तिहाई हाराहारी ल्याउने देखिंदैछ । बहुमत ल्याएन भने चाहिं अचम्म हुनेछ । यस्तै अचम्म या चमत्कार भइदियोस् भनेर कांग्रेस नेताहरु भाकल गरेर बसिरहेका छन् । तिनको भाकल पूरा हुने कुनै छाँट देखिएको छैन । भाकल पूरा भयो भने अचम्मै हुनेछ ।
चुनावमा आफू सोत्तर भएर सिनिक्क भएपनि त्यसपछि केही चमत्कार हुने आश गरेको छ कांग्रेसले । कांग्रेसले गरेको आश के हो भने चुनाव हुन्छ, वाम गठवन्धनको बहुमत आएपछि एमाले एक्लैको बहुमत आउने छैन । माओवादी र एमाले पार्टी एकीकरण हुँदैन । त्यसपछि माओवादी र एमालेलाई फुटाउने, माओवादीलाई आफूतिर तान्ने, अनि एमालेलाई तीनचित खुवाउँदै आफ्नो नेतृत्वमा सरकार बनाउने । कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्छु भन्दै बर्बराउनको यो बाहेक के कारण हुनसक्छ ? ज्योतिषले पनि राजनीतिक जोखाना नै हेरेका होलान्, अथवा, देउवालाई सन्तुष्ट बनाउन त्यसो भनिदिएका होलान् । जसो होस्, चुनावपछि माओवादी र एमाले मिल्दैनन्, फुट्छन् अनि आफ्नो दिन फर्किन्छ भन्ने आशाको त्यान्द्रोमा कांग्रेसका नेताहरुको श्वास अड्किएको छ ।
नेपाली राजनीतिमा सबै खालको अचम्म देखियो । कांग्रेसका नेताहरुले मनको लड्डु खाए जसरी कल्पना गरेको यो आशा चाहिं पूरा हुने कुनै लक्षण छैन । बरु, साँच्चै नै पार्टी एकीकरण गर्ने बाटोमा पो दुई पार्टी लागिपरेका छन् । यी दुई पार्टी एकीकरणको संघारमा आइपुगे, यो पनि अचम्म नै होइन त ?]
कांग्रेस यो निर्वाचनमा सोत्तर भएन अनि एमाले माओवादीको सरकार बनेन भने त्यसलाई अचम्म मात्र भनिने छैन, त्यसलाई महाअचम्म भनिने छ !



