काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) २०७६ मंसिर २४ गते भोलि (मंगलबार) सकिँदैछ । यसको नतिजा र प्रभाव भने वर्षौंसम्म रहिरहने छ । नेपालले अपेक्षाकृत रुपमै स्वर्णपदक जित्यो । घरेलु भूमिको नतिजा नेपालले भरपूर उठाएको छ । नसोचेका खेलमा समेत स्वर्णपदक जित्नुले खेलाडी र आम नेपालीलाई हौसाएको छ । तर, तयारीको विषयलाई र व्यवस्थापनको विषयलाई लिएर भने सरकार, खेलकुद मन्त्रालय र राखेप माफी लायक बन्न सकेन । किनकि सरकारले भद्रगोल र बेथिती सम्हाल्नै सकेन ।
अन्तिम समयमा आएर पुनर्निर्माणका काम गर्नु र बिना टेन्डर ठेक्कापट्टा गर्दा करोडौं रुपैयाँको नोक्सानी राष्ट्रलाई भएको छ । खेलाडीहरूले रुँदै खेल्नुपर्ने, खेल्ने सामग्री र पोशाक नपाउने तर मन्त्रीहरूलाई भने दौरासुरुवाल सिलाइदिने जस्ता गतिविधि क्षमालायक बन्न सकेनन् । सुटिङ्गका खेलाडीलाई चाहिने हतियार पहिलेदेखि नै ल्याएर नराख्नु अनि अन्तिम समयमा अनुदानका नाममा ल्याएर खेलाडीलाई भने निरुत्साहित पार्ने काम सरकारदेखि सुटिङ्ग संघसम्मले गरेको छ ।
हातहतियार ऐन अनुसार हतियार ल्याउनु पर्ने भएपछि पहिलेदेखि नै यसको तारतम्य मिलाउनु पर्नेमा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले कमिशन र आफ्नो व्यवसाय फस्टाउनका लागि अनुदानमा सामान ल्याउन खोज्दा ढिला गरी खेल्ने सामग्री आइपुगेको छ ।
तर, सामान आउनुअघि खेलाडीहरूले प्रतिस्पर्धी देशका खेलाडीसंग पेस्तोल मागेर खेल्नुपर्दा धुरुधुरु रोएका घटनाहरू बाहिर आएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यस्तो बेहाल र बेथिती हुँदा पनि सरकार मौन छ । खेलकुद परिषद मौन छ र गैरजिम्मेवार सुटिङ संघले सरकारलाई दोष लगाएर पन्छिने काम गरेको छ ।
२० वर्षअगाडिका हतियार जसले गर्दा पड्काउन पनि नसिकने भएपछि खेलाडीहरूले आँशु नै बगाएर खेल्नुप¥यो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा योभन्दा दुर्भाग्य के हुन्छ । एकातिर आयोजक राष्ट्र र अर्कातिर खेलाडीहरूकै मनोबल घनाउने गरी भएको तयारीले गर्दा निकै पीडा दिने काम गरिएको छ ।
अर्कातिर बिना टेन्डर काम दिने गर्नाले प्रधानमन्त्री ओलीका विश्वासपात्र भनिएका सदस्यसचिव सिलवालले देशकै बेइज्जत गरेर पदको चरम दुरुपयोग गरेका खवरहरू पनि आइरहेका छन् । प्रधानमन्त्री ओलीले जसरी पनि साग सफल गराउने म्यान्डेट दिएर सिलवाललाई नियुक्त गरेका थिए । सिलवालले ‘म बाहेक अरु कसले गर्न सक्थ्यो साग’ भनेर हिँड्ने गरेको चर्चा पनि सुनिदैछ ।
उनले आफ्नालाई प्रयोग गरेर करोडौं करोडको ठेक्काका अधिकांश काम दिएका छन् । नेकपाभित्रको एउटा खेमाका व्यक्तिले मात्र काम पाएपछि अर्को खेमाका कार्यकर्ताहरूबीच भने चरम असन्तुष्टि देखिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद एवं दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ पनि सागमा खुशी रहन नसकेको स्रोत बताउछ । उनको खेमासमेत बाइपास भएको छ ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना साग द मिसन बनाइए पनि सदस्यसचिव सिलवालको बेथिती भण्डाफोर गर्न भने छाडेका छैनन् । सिलवालले समन्वय, सरसल्लाह, तालमेल नमिलाई एकल रुपमा अघि बढेपछि उनी चिढिएका छन् । तिम्सिना सिलवालका विरोधमा लेख्ने मिडियाकोमात्र पछि लागेको आरोपसमेत उनीमाथि लागेको छ ।
त्यस्तै खेलाडीहरूलाई सुटिङमा मात्र होइन साइक्लिङमा पनि समस्या भएको बताइएको छ । पुराना र थोत्रा साइकल दिएर अपमान गरेको भन्दै खेलाडीहरूले असन्तुष्टि जनाएका छन् । यद्यपि साइक्लिङबाट नेपालले स्वर्णपदक जितेको छ । त्यस्तै ट्रायथलन खेलाडी सोनी गुरुङ्गलाई समेत राखेपले पोशाक नदिँदा सिंगो आयोजक नै आलोचनाको पात्र बन्न पुगेको छ ।
खेलाडी सेभ द मिसनको नियन्त्रणमा होटलमा रहेका बेलामा खेल्नु दुई दिनअघि होटल छाडेर भाग्नुलाई पनि निको मानिएको छैन । नेपाली सेनाकी जागिरे खेलाडी तुलसा खत्री ट्रयाक एण्ड फिल्डमा दौडनुको सट्टा सुटुक्क भागेर कतारतिर दौडेकी छिन् । तर यसमा छानबिन अझै भएको छैन । छानबिन गरी प्रशिक्षकदेखि व्यवस्थापकसम्मलाई कार्वाही नगर्ने हो भने यस्तो घटना फेरि दोहोरिने छ ।
अख्तियारको चरम दुरुपयोग गर्दै साग सकिनै लाग्दासमेत अझै ठेक्का पट्टा दिने काम भने भइरहेको खबर छ । यो भनेको चरम दुरुपयोग नै हो । त्यतिमात्र हैन जुन पत्रकारले अनियमित कामकारवाहीहरू समाचारमार्फत बाहिर ल्याइदिने कुरा गर्छ त्यसलाई सके फकाएर र नसके थर्काएर भए पनि कब्जामा लिने काम भइरहेको एक पीडित पत्रकारले साँघुलाई बताएका छन् । उनले भने, ‘पूर्वाधार र सुविधाका बारेमा कुरा गर्न गएको थिएँ तपाईलाई लाज लाग्दैन यस्तो माहोलमा यस्ता कुरा गर्न ? यो साग तपाईको पनि हो नि । सफल भइरहेको छ भनेर लेख्नुस् भनेर सदस्यसचिव सिलवालले थर्काए ।’
सदस्यसचिव सिलवालले जसरी भए पनि आफ्नो पक्षमा समाचार लेखाउनका लागि पत्रकारहरूलाई नै काम दिएको खबर छ । ‘खेलकुद बिट’संग सम्बन्धित तीन दर्जन पत्रकारलाई खेलकुद परिषदले दैनिक दश हजार रुपैयाँसम्म दिएर लेख्न लगाएको स्रोतले बताएको छ । राष्ट्रिय दैनिकदेखि लिएर मुख्यमुख्य टेलिभिजनका पत्रकारलाई कुनै न कुनै भूमिका दिएर सदस्यसचिव सिलवालले प्रभावमा पारेको बताइएको छ ।
यसैबीच भागबन्डामा पर्न नसक्ने केही दैनिक र टेलिभिजनका पत्रकारले भने खोइरो खनेर रिपोर्टिङ गरिरहेको आरोपसमेत लागेको छ । पत्रकारलाईमात्र हैन सरकारलाई नै सिंगो प्रभावमा पार्न राखेपले मन्त्रीहरूलाई नै दौरासुरुवाल किनिदिएर हाँस्यास्पद काम गरेको छ । दौरा सुरुवाल पाउने मन्त्री दङ्ग छन् भने पोशाक नलिने मन्त्रीको आक्रोश बढ्दो छ । आरोप प्रत्यारोप चलिरहेको छ ।
बेथितीको भण्डार चलिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रतिनिधि छाडेर अनुसन्धान गरिरहेको बताइन्छ । राखेपको एक स्रोत भन्छ, ‘अहिले जहाँबाट जे खान, कमाउन सकिन्छ खाऔं भनेर खाइरहेका छन् तर यिनीहरूलाई यो निल्नु र ओकल्नु हुने निश्चित छ ।’ तीन अर्ब ६५ करोडको अनुमानित बजेटबाट अहिले पाँच अर्ब पु¥याइएको स्रोत बताउछ । यही पैसाको हिनामिनाले गर्दा धेरैको भविष्य अख्तियारको ढोका धाउँदा धाउँदै बित्ने दावीसमेत गरिएको छ ।



