काठमाडौं । आउूदो २०७६ पुस पहिलो साता हुने नेपाल नर्सिङ संघको निर्वाचनका लागि वामपन्थी टीम तयार भएको छ । लामो विवाद र रस्साकस्सीपछि बल्लतल्त वामपन्थी नर्सहरूले नेपाल नर्सिङ संघको १९ औं कार्यसमितिका लागि टीम खडा गर्न सफल भएका छन् । वामपन्थी निकट नर्सहरूबीच अध्यक्षका लागि दावी गर्नेको संख्या आधा दर्जनभन्दा बढी भएपछि टीम बनाउन नै समस्या भएको थियो ।
त्यही बीचमा कांग्रेसनिकट नर्सहरूको टीम सक्रिय भएको थियो । संघको पाूच दशक लामो इतिहासमा अहिलेसम्म कांग्रेसनिकट नर्सहरूले निर्वाचन जित्न सकेका छैनन् । एकलौटी वामपन्थी नर्सहरूको वर्चश्व रहेको यो संघमा अहिलेको निर्वाचनमा भने समस्या खडा हुन लागेको थियो । पूर्वएमाले र पूर्वमाओवादी टीमबीच पनि विवाद थियो ।
अध्यक्षका लागि दावी गर्नेको संख्या प्रशस्त देखिएपछि पूर्वमाओवादी टीमले व्यवस्थापनका लागि दबाब बढायो । त्यसपछि झनै समस्या भएको थियो । तर, २०७६ मंसिर १३ गते शुक्रवारमात्रै वामपन्थी नर्सहरूको टीम तयार भएको बताइएको छ । महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्राध्यापक मनकुमारी राईको नेतृत्वमा वामपन्थी नर्सहरू चुनावी मैदानमा उत्रिएका छन् । राई उक्त क्याम्पसको नेपाल प्राध्यापक संघको पनि नेतृत्व गरिसकेकी प्रँध्यापक हुन् ।
त्यसो त, राईले नेपाल नर्सिङ परिषद्को सदस्यसचिवको भूमिका पनि निर्वाह गरिसकेकी छन् । तर, तत्कालीन कांग्रेस सरकारका स्वास्थ्य मन्त्रीले ०६६ मा ६ महिना नपुग्दै हटाएपछि लामो विवाद पनि भएको थियो । राईलाई हटाएर कांग्रेसबाट स्वास्थ्य मन्त्री भएका उमाकान्त चौधरीले जानकी केसीलाई सदस्यसचिव बनाएका थिए । उक्त नियुक्तिविरुद्ध नेपाल नर्सिङ संघले आन्दोलन पनि गरेको थियो । जसले गर्दा चारबर्षे उक्त नियुक्तिको पदमा राईपछिका पदाधिकारीले चार बर्ष नै काम गर्ने वातावरण बनेको थियो ।
संघको अध्यक्षका लागि राईसहित मिना वानिया, गंगा थापा, अप्सरा पाण्डे, वर्तमान अध्यक्ष तारा पोखरेलसहित आधा दर्जनभन्दा बढीले दावी गरेका थिए । पोखरेल चिकित्सा शिक्षा आयोगको सदस्यमा गएपछि राईलाई संघमा ल्याउन स्वयम् पोखरेल लागेकी थिइन ।
थापा, पाण्डेसहितका दावेदार भने राईका विद्यार्थी भएकोले सहमति जुटाउन सजिलो भएको संघका एक सदस्यको भनाइ रहेको छ । यता, पूर्वमाओवादीबाट अध्यक्षको दावी गर्ने मिना बानिया अब वरिष्ठ उपाध्यक्ष्ँमा सहमत भएकी छिन् । त्यसैगरी, उपाध्यक्षमा रमेश सुब्बाको नाममा सहमति जुटेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स नर्वदा थापालाई महासचिवमा उठाउने सहमति भएको पनि जानकारी हुन आएको छ ।
त्रिवि शिक्षण अस्पतालको कर्मचारी संगठनको कार्यसमितिमा समेत काम गरेकी थापा पूर्वएमाले पृष्ठभूमिकी हुन् । कोषाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा प्रमिला थकाली, सदस्य (जनजाति)मा हरि कोजु, सदस्य (मधेशी)मा अञ्जु कुमारी महतो, सदस्य (मुस्लिम)मा कुहिनुर फिरोजी, सदस्य (खुला)मा विजया अधिकारी, सदस्य अनमी कोटाबाट अम्बिका पौड्याल र सदस्य (दलित) सपना विक रहेका छन् । कांग्रेसनिकट टीमको नेतृत्व भने मुना रानाले गर्ने तय भएको स्रोत बताउछ । वीरगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख समेत रहेकी रानाको टीम भने तयार भइसकेको छैन ।



