काठमाडौं । कालापानी क्षेत्रमा भारतीय अतिक्रमणविरुद्ध नेपाली जनमत आक्रोशित छ । ७० बर्ष पुरानो घाउमा खाटा बस्नुभन्दा पनि बढ्ता चह¥याउनेमात्रै भइरहेको छ । उल्टै भारतले त्यस क्षेत्रको ३८५ वर्गकिमी क्षेत्रलाई आफ्नो देशको राजनीतिक नक्सामा समेटेको खबरले नेपालीहरु आक्रोशित भएका छन् । त्यसमाथि भारतले त्यस प्रसंगमा सार्वजनिक गर्ने अभिव्यक्तिले पनि नेपालीको मन कुँड्याउने काम गरेको छ । त्यसले गर्दा भारत सरकारले नेपालप्रति असल मित्रको भूमिका निभाउन सकेको छैन
‘गो–व्याक इण्डिया’ नाराले उग्ररुप लिएको बेलामा २०७६ मंसिर १ गते नेपाल आएका थिए श्यामशरण । उनी नेपालका लागि भारतीय पूर्वराजदूत मात्र होइनन, विदेश सचिव पनि भइसकेको व्यक्ति हुन् । नेपाली राजनीतिक दलको नाडी राम्रोसंग छामेका र नेपालको लोकतान्त्रिक आन्दोलनमा अदृश्य सक्रिय पात्रका रुपमा रहेका श्यामशरणको प्रभाव नेपाली राजनीतिमा धेरथोर रहेकै छ ।
त्यही राजनीतिक प्रभाव उपयोग र २ नोभेम्वरमा भारतले सार्वजनिक गरेको राजनीतिक नक्साप्रति नेपालीहरुको विरोधलाई तौलिन गत हप्ता नेपाल आएको अनुमान कूटनीतिक क्षेत्रले गरेको छ । उनको नेपाल भ्रमण धेरै भिजिवल थिएन । र, निश्चित उद्देश्यका लागि आएर काम फत्ते गरेर फर्किनमात्र आएको जस्तो देखिन्छ । भन्नलाई त श्यामशरणले राजनीतिक भेटघाट पनि गर्नेछन् भनिएको थियो ।
हुनपनि यस्तो समयमा भ्रमण भएको थियो कि भारतीय लाइन अनुसार, समाजवादी पार्टीले राजपास“ग पार्टी एकता नगर्ने निर्णय लिएको थियो । त्यही बेलामा नेकपामा मन्त्रीमण्डल पुनर्गठन र दुई अध्यक्षको कार्यविभाजनको रस्साकस्सी चलिरहेको थियो । र, अतिक्रमित भूमि कालापानी फिर्ता गर्न माग गर्दै देशभरीका सडकमा आन्दोलन पनि चलिरहेको थियो ।
खासमा श्यामशरण यी तिनै मुद्दामा केन्द्रित हुन आएको भन्ने टिप्पणी पनि भइरहेको थियो । तर, अहिलेसम्म श्यामशरणले उच्चराजनीतिक भेटघाट गरेको भन्ने पुष्टि त भएको छैन र कालापानी मुद्दासंग जोडिएको विषयमा भने भेटघाट भएको सुरक्षा स्रोतले दावी गरेको छ ।
गृह मन्त्रालयनिकट सुरक्षा स्रोतका अनुसार, श्यामशरणले परराष्ट्रसचिव शंकरदास वैरागीसंग भेटघाट गरेका थिए । त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नापी विभागका उच्च पदाधिकारीसंग पनि छलफल गरेको चर्चा छ ।
भूमि व्यवस्था मन्त्रालय र नापी विभागले नेपालको नयाँ नक्सा लुकाएर राखेको आशंका नेपालका बुद्धिजीवीहरुले गरेका छन् । लिम्पियाधुरासम्म समेटिएको नक्सा लुकाउनुमा भारतीय प्रभाव नै रहेको सिंहदरबारमा चर्चा छ । २ बर्ष पहिला नै त्यो नक्सा तयार भइसकेको हो । र, नेपालको नक्सा गलत भएको भन्दै सच्याउन माग भइरहेको छ ।
निशान छापको नेपालको नक्सा गलत भएको पुष्टि भएपछि गत बर्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले नेपालको नक्सा सच्याउने प्रतिवद्धता जनाएकी पनि थिइन् । र, गलत नक्सा प्रयोगमा नल्याउने भनिएको थियो । तर, अहिलेसम्म त्यसले प्रगति गरेको छैन ।
नेपालको नक्सा सच्याएलगत्तै अतिक्रमित भूमि कालपानी क्षेत्र समेट्नुपर्ने हुन्छ । त्यसमाथि दुई हप्ता पहिलामात्रै राज्य व्यवस्था समितिले सुगौली सन्धि अनुसारको नेपालको नक्सा प्रकाशन गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारको यो प्रयासलाई रोक्नुपर्ने श्यामशरण भ्रमणको मक्सद रहेको चर्चा बुद्धिजीवीहरुले गर्ने गरेका छन् । तर, श्यामशरणको मक्सदले गतिलोसंग काम गरेको छैन भन्ने पुष्टि चाहिं २०७६ मंसिर ५ गते विहिवार सरकारले भारतलाई कूटनीतिक नोट पठाएको घटनाले पुष्टि गर्छ । यद्यपि, नापी विभागले नक्सा सार्वजनिक नगर्नुले भने अहिले पनि प्रश्न उठाइरहेको छ ।



