सुर्खेत, ३० कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई ‘नमूना शहर’ बनाउने पहल भइरहेको बताउनुभएको छ ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतको २१औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सिङ्गो प्रदेशको प्रतिबिम्व दिने भएकाले वीरेन्द्रनगरलाई ‘नमूना शहर’ का रुपमा विकास गर्न लागिपरेको बताउनुभयो ।
“यही असोज महिना एक साताको चीन भ्रमणका क्रममा आफूले वीरेन्द्रनगरको व्यवस्थित शहरीकरण र चक्रपथ निर्माणका लागि चीन सरकारसँग प्रस्ताव गरिएको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली सरकारको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको छ ।”
उहाँले वीरेन्द्रनगरलाई नमूना शहरका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । सडक, खानेपानी, विद्युत्, सरसफाइ तथा अन्य पूर्वाधार विकासका लागि दीर्घकालीन सोचसहित नयाँ गुरुयोजना आवश्यक रहेको उल्लेख गर्दै उहाँले वीरेन्द्रनगर नगरपालिकामा अव्यवस्थितरुपमा भइरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्नेमा जोड दिनुुभयो ।
मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले चालू आवमा रु ५० करोड बजेट विनियोजन गरिएको बताउँदै खानेपानी आपूर्तिको दीर्घकालीन समस्या समाधान नहुँदासम्म विभिन्न उपायको खोजी गरेर पनि यहाँको तत्कालीन समस्या समाधान गरिने छ भन्नुभयो ।
स्वच्छ, सफा र प्रदूषणरहित शहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको बताउँदै उहाँले जथाभावी फोहर फाल्ने बानीमा सुधार गर्न नगरवासीलाई आग्रह गर्नुभयो ।
प्रदेश सरकारले वीरेन्द्रनगरलाई ‘नमूना शहर’का साथै यसलाई कैलाश मानसरोवर, रारा, डोल्पा, सिञ्जा जाने पर्यटकीय प्रवेशद्वारका रुपमा निर्माण गर्ने लक्ष्य लिएको छ, उहाँले भन्नुभयो । रासस



