काठमाडौं । ‘मातृभूमिका लागि नेपाली, समूहले ‘संसारव्यापी हस्ताक्षर विशेष अभियान’ संचालन गर्दैछ । २०७६ कात्तिक ३० गते काठमाडौंको बसन्तपुरबाट हस्ताक्षर अभियान शुभारम्भ गर्ने भएको छ । संसारभरिबाट १ करोड हस्ताक्षर संकलन गर्ने उद्देश्यका साथ सञ्चालन हुने यस अभियानमा सबै धर्मावलम्बीहरूको सहभागिता रहने जनाइएको छ ।
जातीय र क्षेत्रीय भावनाको अन्त्य गरी नेपाली राष्ट्रिय भावनाको विकास हुनुपर्ने, विकेन्द्रीकरण प्रणालीलाई सुदृढ बनाउने एकीकृत सार्वभौमिकतासहितको नेपाल हुनुपर्ने र सार्वजनिक जीवनमा रहेका शासक, प्रशासकलगायत सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने मुख्य मागहरू राखेर हस्ताक्षर अभियान सञ्चालन गरिन लागेको बताइन्छ । र, यस अभियानको हिन्दू, बौद्ध, किराँत, शिख, बोन तथा परापूर्वकालदेखि मुसलमानहरूले मान्दै आएका इस्लामलगायतका धर्म–संंस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दू राष्ट्र नेपाल स्थापना मुख्य लक्ष्य रहेको छ ।
यस अभियानको पहिलो हस्ताक्षरकर्ताका रूपमा अभियानले शताब्दीपुरुष सत्यमोहन जोशीलाई चयन गरेर हस्ताक्षरका लागि आग्रह गरे पनि शताब्दीपुरुष जोशीले सो आग्रह अस्वीकार गरेको स्रोतको भनाइ छ । किनभने सरकारी स्तरबाट मान–सम्मान र सुविधा प्राप्त गरिरहेकाले शताब्दीपुरुष जोशीले सो अभियानमा ''हस्ताक्षर गर्दा समस्या आउने र सरकार रिसाउने'' विश्लेषण गरी उनी पछि हटेको जानकारी हुन आएको छ ।
त्यसैगरी यस अभियानमा मुस्लिम समुदायका केही चर्चित व्यक्तिहरूको समेत सहभागिता रहने भएको छ । हस्ताक्षर शुभारम्भ कार्यक्रमकै सन्दर्भमा पोखरामा आयोजना हुने कार्यक्रममा लोककवि स्व. अलि मियाँका नाति मुस्लिम अगुवा अफजल मियाँको सहभागिता रहने छ भने नेपालगन्जमा आयोजित हस्ताक्षर शुभारम्भ कार्यक्रममा व्यवसायी मोहम्मद अहमद कुरैसी सहभागी हुनेछन् ।
मुसलमान समुदायका यी नेताहरू आफ्नै भेषभूषा र मौलिक पहिचानका साथ अभियानको हस्ताक्षर संकलनमा अगुवाको भूमिकामा सहभागी हुने जनाइएको छ ।
यो हस्ताक्षर अभियान तीन महिनासम्म संसारव्यापी चल्नेछ । संसारव्यापी रूपमा संकलन गरेर ल्याइएको एक करोड नेपालीका हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा बुझाइने आयोजकहरूले बताएका छन् । (२०७६ कात्तिक २५ गतेको साँघु साप्ताहिकबाट)



