काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व समूहका शाखा अधिकृतदेखि सहसचिवसम्मका २ सय कर्मचारीले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दैआएकोमा ३५ जना ठूलो स्केलमा अनियमितता गर्ने अधिकारीको उजुरीबारे लामो समयसम्म मुद्दा चलाइएको छैन । राजस्व समूहका २ सय र सडक विभाग अन्तर्गतका आयोजना, मालपोत, यातायात, बैदेशिक रोजगार विभाग लगाययतका निकायका १५ सय बिरुद्ध परेका अकूत सम्पत्तिका उजुरीमा छानबिन भइरहेको जानकारी आयोगका प्रमुख आयुक्तले नै दिएका थिए ।
तर, राजस्व समूहमा सबैभन्दा बढी कमाउने भनेर चिनिएका अधिकृतदेखि सहसचिवको उजुरी अख्तियारमा भ्रष्टहरूको चलखेलपछि तामेलीमा हालिएको चर्चा सुरु भएको छ । तामेलीमा राखिएकाहरूलाई राजस्व समूहमा ‘ठूला माछा’का रुपमा लिने गरिन्छ ।
अख्तियारले लामो समय राजस्वमा बसी अकूत सम्पत्ति आर्जन गरेका केही सहसचिवको उजुरी पनि तामेलीमा राखेको स्रोतले बताएको छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा रसुवा, बीरगंजदेखि बिराटनगरसम्मबाट भित्रिने प्रत्येक गाडीबाट २५ हजार रुपैयाँका दरले घुस असुल्ने निर्मलहरि अधिकारीको उजुरी पनि तामेलीमा राखिएको स्रँेत बताउछ ।
राजनीतिक नेतृत्वदेखि अख्तियारका उच्चपदस्थहरूसँगको सेटिङमा राजस्व समूहका अधिकृतदेखि सहसचिवसम्मको तामेलीमा राखिएको चर्चा सुरु भएपछि अख्तियारमाथि नै प्रश्न उठ्न थालेको छ । सहसचिव निर्मलहरि अधिकारी तातोपानी भन्सारदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदासम्म कमाएको अकूत सम्पत्ति पनि अख्तियारले छानबिन गर्दागर्दै तामेलीमा परेको स्रोतको दावी छ । उनका बिरुद्ध विस्तृत अनुसन्धान भइरहेको थियो । मुद्दा नै जाने भएपछि सहसचिव अधिकारीले प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईमार्फत् भनसुन गरी उन्मुक्ति पाएको स्रँेत बताउछ ।
स्रोतका अनुसार, सहसचिव अधिकारीले तातोपानी भन्सार प्रमुख हुँदा राखेका भान्से होमप्रसाद तिमल्सिना(नवराज)लाई लगानी गरेका छन् । सहसचिव अधिकारीले लगानी गरेपछि नवराज छोटो समयमा उदाएका नवधनाढ्य ब्यापारी बन्न पुगेको अर्थ मन्त्रालयमा चर्चा हुने गर्दछ । राजस्व अनुसन्धान विभागको महानिर्देशक अधिकारी भएको बेलामा तिमल्सिनाले न्यून बिजकीकरण गरी मासिक अर्बौंका सामान आयात गर्ने गरेका थिए । लोकमानसिंह कार्कीको दबाबमा २०७० मा अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका थिए ।
निर्मलहरि अधिकारीको अकूत सम्पत्ति पहिलो पटक अधिकृत हुँदा तातोपानी भन्सारमा बसेर कुस्त कमाई गरी २०५६–०५७ तिरै तत्कालीन एयरपोर्ट भन्सारका प्रमुख द्वारिका उपाध्यायको चावहिलस्थित करीब एक रोपनी घर र जग्गा ८० लाखमा किनेको अर्थ स्रँेत बताउँछ । महिनाको २०÷२५ हजार तलब हुने कर्मचारीको शानका साथ पाँचतारे होटेल हयात्को हेल्थ क्लबका सदस्य बनेका अधिकारीले २०५६ मै ८० लाखमा घर किन्न सक्ने हैसियत राजस्व समूहमा बसी बनाइसकेपछिको कमाइ ब्यापार र भक्तपुरमा १० रोपनी भन्दा बढी जग्गा खरिद गरी कृषि फार्मलाई भाडामा दिएका थिए ।
उक्त कालिज फार्ममा राजस्व अनुसन्धान विभागबाट अकूत सम्पत्ति कमाएपछि छानबिनका डरले राजीनामा दिएका अधिकृत उद्धव राउतसमेत पार्टनर रहेको बताइन्छ । अधिकारीको ओसिएन कम्प्युटरमा समेत लगानी रहेको स्रँेतको दावी छ । सिन्धु विकास बैंकका अध्यक्ष तथा तातोपानीबाट तस्करी गरी रातारात नवधनाढ्य भएका राजेन्द्र श्रेष्ठ, योगेश श्रेष्ठ र जगदिश श्रेष्ठले पनि अधिकारीदेखि भन्सारका कर्मचारीको भ्रष्टाचारको पैसा चलाएका छन् । र, अख्तियार मिलाउन पनि उनीहरूले नै भूमिका खेलेको चर्चा छ ।
त्यस्तै, हाल तातोपानी भंसारका प्रमुख रहेका उपसचिव कृष्ण बस्नेतको उजुरी पनि तामेलीमा राखिएको स्रोतले बताएको छ । स्रोतका अनुसार, बिराटनगर भन्सारको प्रमुख हुँदा प्रतिट्रक २ लाख घुस लिई अर्बौं राजस्व मारेर कमाएको उजुरी बस्नेतविरुद्ध परेको स्रँेतको दावी छ । उनले १६ देखि २० लाख रुपैयाँ भन्सार शुल्क लिनुपर्नेमा २ लाखमात्र लिएर छाड्ने गरेका थिए ।
त्यसबखत भन्सारबाट भित्रिएका ट्रकहरूको विवरण हेर्ने हो भने पनि बस्नेतले कसरी राजस्व मारी लाभ लिएका रहेछन् भन्ने खुलस्त हुनेछ भन्ने दावी स्रोतको रहेको छ । स्रोतका अनुसार, अख्तियारबाट २०७५ साउनदेखि राजस्व समूहका २ सय कर्मचारीको सम्पत्ति छानबिन भएकोमा १ सय ४० जनाको विस्तृत अनुसन्धान भएको स्रँेत बताउछ । तर, ती विस्तृत अनुसन्धान गरिएका सबैलाई उन्मुक्ति दिइएको स्रँेतको दावी छ ।
त्यसैगरी उन्मुक्ति पाउने पहुँच र प्रभाव भएका उपसचिवहरूमा सन्तोष श्रेष्ठ, मदन दाहाल, दुर्गादत्त भण्डारी, शिवप्रसाद भण्डारी, टेकबहादुर अर्याल, भूपाल शाक्य, धर्मेन्द्र मिश्र, चण्डी घिमिरे, शरदचन्द्र पौडेल, कमल राजलबट, केशव भण्डारी, पद्मकुमार श्रेष्ठ, शान्तिराम निरौला र ज्ञानेन्द्र ढकाल स्रोत बताउछ ।
अख्तियारबाट उन्मुक्ति पाउने भन्सार र कर अधिकृतहरूमा धु्रव रेग्मी, देवानन्द काफ्ले, विष्णुकुमार श्रेष्ठ, रामप्रसाद भट्टराई, तेजमणि काफ्ले, लक्ष्मण बाँस्तोला, उद्धव राउत(राजीनामा दिइसकेका), फणिन्द्र अर्याल, शम्भुप्रसाद सापकोटा छन् । ३५ जना अधिकृतदेखि सहसचिव जस्ता ठूला माछालाई उन्मुक्ति दिएको अख्तियारले खरिदार र नायबसुब्बाहरूको भने अनुसन्धान गरिरहेको स्रोत बताउछ ।
अख्तियारले राजस्वका अधिकृतदेखि सहसचिवहरूलाई पत्र नै नदिई फोन गरेर बोलाई अनुसन्धान गरेको थियो । र, तामेलीमा राखेको जानकारी पनि फोनबाटै दिइएको थियो । दशैंको मुखमा उन्मुक्ति पाएपछि ३५ जना राजस्व समूहका कर्मचारीले ढुक्कसँग दशैं मनाउन पाउने भएका छन् ।



