काठमाडौं, भदौ २५ । लायन्स क्लब अफ पोखरा पिस सिटीले फुटबल प्रतियोगितामा सहभागी हुने लायन्स खेलाडीको सामूहिक दुर्घटना बीमा गराएको छ ।
लायन्स क्लब अन्तरराट्रिष्य डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म पोखरामा सम्पन्न हुन गइरहेको छैटौं अन्तरलायन्स सेवेन ए साइड फुटबल प्रतियोगिता–२०७६ मा सहभागी हुने लायन्सका खेलाडीका लागि सामूहिक दुर्घटना बीमा गराइएको हो । यस सम्बन्धमा आज सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक कविराज पौडेल र लायन्स फुटबल प्रतियोगिताका संयोजक टंकराज अधिकारीबीच सम्झौता भएको छ ।
खेल सञ्चालनका क्रममा खेलाडी, रेफ्री र अफिसियल दुर्घटना भएमा रु पाँच लाखसम्मको बीमा गरिएको छ । दुर्घटनाका कारणले औषधोपचार गर्न परेमा बिमांक रकमको १० प्रतिशतले नबढ्ने गरी रु ५० हजारसम्मको आवश्यक तथा बास्तविक औषधोपचार खर्च लिन सकिने इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक पौडेलले जानकारी दिए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न लायन्स क्लबबीच आपसी सम्बन्ध प्रगाढ गर्नका लागि ‘स्पोर्ट फर फेलोशिप’ भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएकामा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको प्रतियोगिताका संयोजक एवं क्लबका पूर्वअध्यक्ष अधिकारीले जानकारी दिए ।
उनका अनुसार डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सीमित रहेको प्रतियोगिता यस वर्षदेखि मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालअन्तर्गत चारवटै ‘डिष्ट्रिट’का लायन्स क्लबलाई आमन्त्रण गरिएको छ ।



