काठमाडौं । जङ्गी अड्डामा २०७६ भाद्र २० गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक' २०७६ भाद्र २३ गते समापन भएको छ ।
समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समीक्षा, मूल्याङ्कन र विश्लेषण समेत भएको थियो ।
उक्त बैठकमा पी.एस.ओज रथीबृन्द, पृतनापतिहरु तथा अन्य रथीबृन्दहरु समेत सहभागीता रहेको थियो भने प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए । समापनको क्रममा प्रधानसेनापति महारथी थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढीकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्न संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गरि अपनत्व ग्रहण गर्न तथा आफ्नो दायित्व प्रति उत्तरदायी हुनुको साथै नागरिक-सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन गरिएका नीतिगत निर्णय र स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरेर कार्य-योजना अनुसार जनहितको कार्यहरु सञ्चासलन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन निर्देशन दिएका छन्।
नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।



