चितवन । नुवाकोटका एसपी कृष्ण पल्लीमगर ७ महिनामै तानिएका छन् । उनको सरुवा २०७५ पुस १ मा भएको थियो । २०७६ साउन २४ मा उनी तानिएका छन् । उनको ठाउँमा अर्का एसपी अभिनारायण काफ्लेलाई पठाइएको छ । प्रहरी आचरणविपरीत त्रिशुली दोहन गर्नेहरूसंग मिलेमतो गरेर ब्यक्तिगत फाइदा लिएको धेरै गुनासो आएपछि उनी तानिएका छन् । धादिङ र नुवाकोट हुँदै बग्ने त्रिशुलीको चरम दोहन गरी क्रसरबाट घुस असुली गरेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरी प्रधान कार्यालयमा परेपछि एसपी पल्लीमगर तानिएको स्रोत बताउँछ । त्रिशुली दोहन गर्ने धादिङका एसपी राजकुमार बैदबारबिरुद्ध पनि प्रहरी प्रधान कार्यालय एक्सन लिने तयारीमा रहेको स्रोत बताउँछ ।
उनी धादिङमा सरुवा भएको ६ महिना मात्र भएको छ । उनी २०७५ माघमा धादिङ सरुवा भएका थिए । त्रिशुली नदी प्रदुषण र दोहन गर्ने क्रसरहरूबाट फाइदा लिनेमा पल्लीमगर र बैदबार दुवैको नाम मुछिएको छ ।
प्रहरीको बर्दी लगाएर छिटो धनी हुने होडमा यी दुई अधिकृत लागेपछि विभागले तानेको स्रँेत बताउँछ । राजनीतिक आडमा अवकाश हुने बेलामा चितवन जस्तो जिल्लाको इन्चार्ज भएका एसपी दानबहादुर मल्लले पनि शान्तिसुरक्षा कायम गर्नेतिर भन्दा पनि ब्यक्तिगत आयआर्जनलाई नै प्राथमिकता दिंदैआएको आरोप लाग्दै आएको छ । असुलीको शृंखला यसैगरी अगाडि बढ्दै गएमा पल्लीमगर तानिए जस्तै एसपी मल्ल पनि कुनै पनि दिन तानिने वा डीएसपी श्याम राई जस्तै अख्तियारको फन्दामा पर्न सक्ने संभावनालाई पनि नकार्न नसकिने उनको बानीब्यहोराले देखाउँदैआएको प्रहरी स्रोत बताउँछ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘बा’ भन्ने साइनो लगाएर उनी एकपछि अर्को आकर्षक पोष्टिङ पाउँदैआएका छन् । अवकाशको मुखमा महत्वपूर्ण जिम्मेवारी नदिने नीति प्रहरीदेखि सबै सरकारी सेवामा छ । तर, राजनीतिक शक्तिको आडमा उनी चितवन जस्तो प्रहरीका लागि गहन जिम्मेवारी र दायित्व वहन गर्नुपर्ने आकर्षक जिल्लामा सरुवा भए । चितवनमा सरुवा भएपछि उनको ध्यान नै जसरी हुन्छ कमाउमै केन्द्रित हुँदै गएको आरोप प्रहरी अधिकृतहरूको रहेको छ ।
उनी सरुवा हुनासाथ रोहित मोटरसाइकल वर्कसपबाट २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुक बरामद गरे । प्रहरीले चोरीका मोटरसाइकलसहित २०७६ असार २३ मा श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको थियो । तर, उनीहरूलाई चोरीमा मुद्दा नचलाई सार्वजनिक अपराधको कसुर गरेको भनी उन्मुक्ति दिने काम गरे । एसपी मल्लसँग घुसमा कुरा मिलेपछि पक्राउ परेको १० दिनमै सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटे । यस घटनाले उनी कमाउधन्दा चलाउन गएको कुरालाई पुष्टि गरेको छ ।
स्रोतका अनुसार, १५ लाखमा बार्गेनिङ गरी १० लाखमा बिजय बिक नामका दलालमार्फत् पैसा बुझेर मल्लले श्रेष्ठलाई छुटाउन सार्वजनिकमा मुद्दा चलाएको आरोप छ । बिजय विक एसपी मल्ल दरबारमार्ग बृत्तको प्रमुख हुँदादेखिका उनका असुलीका सहयोगी र बिचौलिया रहेको प्रहरी हेडक्वार्टर स्रोत बताउँछ । रोहित श्रेष्ठसँग डिल उनैले गरेको प्रहरी स्रोतको दावी रहेको छ ।
मोटरसाइकलदेखि गाडी चोरीको राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय गिरोह नै संचालन गर्ने मनकामना वर्कसपका संचालक दीपु भन्ने दीपेन्द्र श्रेष्ठसँग पनि एसपी मल्लको कनेक्सन जोडिइसकेको स्रोत बताउँछ । दीपुसँग पनि तिनै विक मार्फत् कनेक्सन जोडिएको स्रोतले बताएको छ । दीपुले निकै टाढासम्म देखिने सीसी क्यामरा राखी चोरीका गाडी र मोटरसाइकल खरिदबिक्री गर्दैआएका छन् ।
काठमाडौं, पोखरा, नेपालगंजदेखि हेटौंडा, बर्दिबास, जनकपुरसम्मबाट चोरीका मोटरसाइकलको खरिद बिक्री गर्ने काम दीपुको वर्कसपमा हुने गरेको छ । केही दिनअघि प्रहरीले चितवनमा सबैभन्दा बढी चोरीका मोटरसाइकल बिक्री हुने गरेको तथ्यांक निकालेको थियो । र, ट्राफिक प्रहरीको टोली केही दिनदेखि चितवनमा चोरीका मोटरसाइकलको खोजीमा चितवनमा केन्द्रित भएर लागेको छ । दीपुको भरतपुरको मनकामना वर्कसपमा काठमाडौं, पोखरा, दाङ जस्ता सहरबाट मोटरसाइकल चोरी गरी ल्याउनासाथ खोलाखाल(अप्रेसन) गरी अर्कोमा फिट गरी नयाँ बनाएर बिक्री गर्ने गरिएको प्रहरी स्रँेत बताउँछ । चितवनमा जुन एसपी आए पनि उनले सेटिङ गर्दैआएका छन् । कतिपय एसपीको त निवासमै आउजाउ हुने गरेको प्रहरी स्रोत बताउँछ ।
शुरुमा श्रेष्ठलाई पक्राउ गरेपछि ठूलो गिरोह पक्राउ गरेको भन्दै प्रचारमा उत्रिएका एसपी मल्लले पछि बिचौलियामार्फत कुरा मिलेपछि चोरीमा मुद्दा चलाउनुपर्नेलाई सार्वजनिकमा चलाएर १० हजार धरौटीमा छुटेपछि उनको कमाउधन्दा छताछुल्ल भएको हो । रोहित श्रेष्ठलाई पक्राउ गरिसकेपछि दीपु श्रेष्ठले पनि एसपीलाई दस्तुरी बुझाएर लाइन मिलाइसकेको स्रोत बताउँछ । रोहित श्रेष्ठको वर्कसपमा छापा मार्नुको उद्देश्य अरु चोरीका मोटरसाइकल कारोबारीलाई तर्साउने रहेछ भन्ने छर्ल¨ भएको स्थानीय जनताहरू बताउँछन् ।
जुवा अखाडा असुलीका केन्द्र
चितवनका टाँडीदेखि खैरहनी पर्सा जस्ता विभिन्न ठाउँमा जुवा अखाडा संचालित छन् । ती जुवा अखाडामा असुलीका लागि एसपी मल्लले राजन कार्की नामक बिचौलिया खटाएको प्रहरी स्रँेत बताउँछ । गुण्डागर्दी पृष्ठभूमिका कार्की स्वयं विगतमा जुवा अखाडामा जाने गर्दथे ।
पर्सा खैरहनीको राप्ती भ्यू रिसोर्टमा ठूलो जुवा अखाडा संचालन हुँदैआएको छ । पर्सा खैरहनी इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर धनदेव साउदले उक्त होटलबाट असुली गरी एसपी मल्ललाई पनि बुझाउने गरेको स्रोतको दाबी छ । उक्त होटलमा दैनिक आधा दर्जन युवती राखेर खानपिनसहित जुवाअखाडा संचालन हुँदैआएको छ । राप्ती भ्यू रिसोर्ट प्रतिनिधि उदाहरण हो, चितवनका विभिन्न ठाउँमा प्रहरी संरक्षणमा जुवा अखाडा संचालन हुँदैआएको स्थानीयहरू बताउँछन् ।



