🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी कस्ता ठेकेदार  सात पटक म्याद थपेर पाँच वर्षमा भवन निर्माण !!

भद्रपुर, ११ माघ (रासस) : झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ । 

झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो । विद्यालय भवन निर्माणमा रु तीन करोड ९१ लाख १९ हजार ९७३ खर्च भएको निमित्त स्थानीय समन्वय अधिकारी गोपाल लिम्बूले जानकारी दिए  । 

उनका अनुसार विसं २०७० पुस १८ गते काम थालेर २०७२ वैशाख मसान्तसम्ममा भवन बनाइसक्ने गरी भक्तपुरको श्यामसुन्दर राम जेभीले निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायी कम्पनीले निर्धारित समयमा भवनको निर्माण सम्पन्न गर्न सकेन । सात पटकसम्म म्याद थपेर हालै मात्र भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । 

जिससले जनाएअनुसार जेभीले विसं २०७२ जेठ २८ गते पहिलो पटक एक महीनाका लागि म्याद थपेको थियो । त्यसपछि २०७२ साउन २१ गते फेरि असोज १८ गतेसम्मका लागि दोस्रो पटक एक महिना म्याद थपिएको थियो भने २०७२ असोज १८ गते तेस्रो पटक छ महिनाका लागि म्याद थपिएको थियो । कम्पनीले २०७२ चैत्र १८ गते चौथो पटक एक महिनाको म्याद थप गरे पनि निर्माण सम्पन्न गर्न सकेन । 

निर्माण व्यवसायी कम्पनीले पाँचौँ पटक विसं २०७३ वैशाख २१ गते फेरि म्याद थपेर निर्माण सम्झौताको अवधि छ महिना लम्ब्यायो । २०७३ कात्तिक १९ गते छैटौँ पटक म्याद थप गरी ठेकेदार कम्पनीले तीन महीनासम्ममा काम सक्ने कबुल गरेको थियो । 

तर सो अवधिमा समेत काम सम्पन्न नगरेको कम्पनीले २०७४ वैशाख २८ गतेदेखि सोही वर्षको तीन महिनासम्मका लागि सातौँ पटक म्याद मागेको थियो । सात पटक म्याद थपेर सो निर्माण कम्पनीले २०७५ भदौमा बल्लतल्ल विद्यालयको भवन निर्माण सम्पन्न गरी सोही वर्षको असार १८ गते जिसस र विद्यालयलाई औपचारिकरूपमा हस्तान्तरण गरेको थियो । 

भवन निर्माणकार्यमा चरम ढिलासुस्ती भएकामा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलले निर्माण कम्पनीसँग असन्तुष्टि व्यक्त गरेका छन्  । जिल्ला समन्वय समितिले बिहीबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी भवन निर्माणबारे सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । 

दुईतले भवनमा २८ कक्षाकोठा र प्रशासनिक कार्यालयलगायत ३३ कोठा रहेका छन् भने ५५० फलामे डेक्स बेन्च बनाइएको जानकारी दिइएको छ । हालसम्म निर्माण व्यवसायी पक्षलाई रु तीन करोड २० लाख १२ हजार भुक्तानी भइसकेको र बाँकी रकम विद्यालय भवनमा रङरोगन र टुटेफुटेको मर्मतसम्भारपछि मात्र भुक्तानी गरिने निमित्त स्थानीय समन्वय अधिकारी लिम्बूले बताए । 
–––