काठमाडौं । नेपाल प्रहरीले आब्हान गरेको खरिद टेन्डर मध्ये प्राय सबै सामानहरू आर्थिक वर्ष २०७५÷७६ भित्रै आपूर्ति भएको प्रहरीको प्रबन्ध स्रोतले बताएको छ । २०७६ असार मसान्तभित्रै सप्लायर्सहरूले सामान आपूर्ति गरेको बताइन्छ । नेपाल प्रहरीको प्रबन्ध स्रोतका अनुसार, केही सप्लायर्सहरूले भने गुणस्तरहीन र नमुना अनुसारका सामान नल्याएकाले टेन्डर रद्द गर्नु परेको छ ।
नेपाल प्रहरीको प्रबन्ध स्रोतका अनुसार, नमुना अनुसारको झुल सप्लाई नगर्ने ठेकेदार रञ्जन कडरियाको कम्पनी युरोएसियाले सप्लाइको ठेक्का पाएको २४ हजार झुलको ठेक्का रद्द गरिएको छ ।
राजन कडरियाले नमुना अनुसारको झुल सप्लाई नगरेर ठग्न खोजेकाले टेन्डर नै रद्द गर्नु परेको प्रहरी स्रोतले बताएको छ । लगभग रु. एक करोडको झुलको ठेक्का रद्द हुँदा खासगरी तराईमा कार्यरत प्रहरी कर्मचारीहरू लामखुट्टे लाग्ने यो गर्मीको मौसममा समस्या भोग्न बाध्य भएका छन् ।
स्रोतका अनुसार, यो पटकको सप्लाई ठेक्कामा नेपाल प्रहरीको रैथाने सप्लायर्स ठेकेदार राजमान मिश्रको कम्पनीले पाएको २६५०० मिटर उलन पाइन्टको कपडाको ठेक्का पनि नेपाल प्रहरीको प्रबन्धले रद्द गरेको छ । लगभग रु तीन करोडको उलन कपडाको ठेक्का पनि गुणस्तर फेला भएकाले रद्द गर्नु परेको स्रोतले बताएको छ । यो ठेक्का रद्द हुँदा अबको जाडोको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले उलनको पाइन्ट लाउन नपाउने भएका छन् ।



