काठमाडौं, असार १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का इन्जिनियरविरुध्द आरोप पत्र दायर गरेको छ। अख्तियारका अनुसार, जिल्ला सप्तरी, रुपनी गाउँपालिकामा कार्यरत इन्जिनियर विकास कुमार श्रेष्ठले स्वर्णा झोलुङ्गेपुल निर्माण सम्बन्धी बिल फरफारक गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
निज इन्जिनियर विकास कुमार श्रेष्ठले सेवाग्राहीसँग रू.१,००,०००।– (एक लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज इन्जिनियर विकास कुमार श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकाले निजलाई विगो रू.१,००,०००।–(एक लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई असार १९ गते विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।



