हालै रुसको एक कम्पनीले महिला कर्मचारीहरूले स्कर्ट लगाएर स्मार्ट भएर कार्यालय आएमा बोनस दिने घोषणा गरेको छ । यो घोषणा लगत्तै विश्वका महिला अधिकारकर्मीहरूले यसको आलोचना गरेका छन् । यसले समाजमा विृकति फैलाउने भन्दै यस्तो प्रस्ताव नल्याउन आग्रह समेत गरेका छन् । रुसको अल्मुनियम कम्पनी टाटफ्रुपले यस्तो रमाइलो योजना ल्याएको हो । यस अन्तर्गत यदि महिलाले कम्पनीले उल्लेख गरेको बमोजिम विशेष कपडा लगाएर आएमा दैनिक थप रकम बोनस पाउनेछन् ।
बोनस प्राप्त गर्नका लागि कम्पनीले केही शर्तहरू अगाडि तेस्र्याएको छ । घुँडाभन्दा पाँच सेन्टिमिटर लामो स्कर्ट लगाउन पाइने छैन । यसको प्रमाणस्वरुप त्यस्तो स्कर्ट लगाउने महिलाहरूले कम्पनीलाई तस्विर पठाउनुपर्नेछ । कम्पनीको यो योजनाले चौतर्फीरुपमा आलोचना खेपिरहेको छ । केही अधिकारकर्मीले यो योजनाले महिलाको शोषण गरिररहेको उल्लेख गरेका छन् । कम्पनीका प्रवक्ताले भने यो योजना कुनै पनि तरिकाले गलत नभएको बताएका छन् । यसले महिलामा जागरुकता बढ्ने उनको दाबी छ । अहिलेसम्म यस योजनामा ६० भन्दा बढी महिला सहभागी भइसकेको पनि प्रवक्ताले उल्लेख गरेका छन् ।



