लमही, ५ जेठ (रासस) : हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा विभेद गरेको भन्दै आज बिहानदेखि स्थानीयले सडक निर्माण कार्य अवरुद्ध गरेका हुन् । राप्ती नदीको पुलको दक्षिणतर्फ रहेको पूर्णगिरी बालुवा प्रशोधन केन्द्रदेखि दक्षिणतर्फ सिक्रहवा पुल पुग्नुअघिको कल्भर्टसम्मको जग्गाको मुआब्जा वितरणमा विभेद भएको भन्दै बिहानैदेखि बोधीपुरमा ड्रम तथा काठका मुढा राखेर सडक अवरुद्ध पारेको स्थानीय अनुपकुमार थापाले बताए ।
सो क्षेत्रभित्रको मुआब्जा रु ५०० प्रतिवर्गमिटर कायम गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनको भनाइ छ । “यहाँको मुआब्जा एकदमै कम भयो, यस अघि रु २५० रुपैँया मात्रै थियो, तर त्यसलाई बढाएर पनि ५०० सय मात्रै बनायो”, उनले भने, “यो एकदमै न्यून हो, त्यसैले हामीले उचित मुआब्जा पाउनुपर्ने माग राखेर सडक अवरुद्ध गरेका हौँ ।”
सोही सडकखण्डअन्तर्गत चैलाहीमा प्रतिवर्गमिटर रु तीन हजार ६०० तथा गढवा क्षेत्रमा प्रति वर्गमिटर रु एक हजार ३०० रहेको भन्दै सोही दरमा आफूहरुले मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ । आफ्ना मागमा सुनुवाइ नभए सोमबारदेखि राप्तीपुलमै धर्ना दिएर यातायात ठप्प पार्ने स्थानीयको भनाइ छ ।
मुआब्जा वितरवणकै कारणले त्यहाँको सडक निर्माणको कार्यले तीव्रता लिन सकिरहेको छैन् । अहिलेसम्म करीब २० किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । अधिकांश ठाउँमा मुआब्जा वितरण नहुँदा समस्या भएको इञ्जिनीयर मुकेशकुमार शाहले बताए ।
–––



