🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो

तेह्रथुम, २१ कात्तिक ।  आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् । 

मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ । उनीहरु प्रचारप्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन् । 

जिल्लाका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका छन् । तर गाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरेर फलाएको धान बाली भित्र्याउने चटारो छ । 

यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको आठराई गाउँपालिका–४, इवाका किसान डिल्लीराम विकले बताए । 

“चुनाव आयो रे, नेताहरु गाउँघरमा डुल्न थालिसके”, उहाँ भन्नुहुन्छ, “हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, उनीहरुलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो ।” 

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि जिल्लामा २१ मंसिरमा चुनाव हुँदैछ । मतदान गर्ने दिन आउन अब ३० दिन मात्रै बाँकी छ । तर गाउँका किसानलाई चुनावले छोएको छैन । कतिपय किसान खेती सम्हाल्नमै व्यस्त रहे पनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन् । 

यो याममा जिल्लाका किसान ‘खोल्सीको कालो सुन’ नामले परिचित अलैँची बाली थन्काउन, धान बाली भित्र्याउन र जौ, गहुँ छर्ने, आलु लगाउने, विभिन्न तरकारी लगाउने काममा व्यस्त छन् । 

चुनावअघि नै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन् । 

“पार्टीका पछि लागे पेट केले भर्ने ?” फेदाप गाउँपालिका–२ की मालती जोगी भन्छिन् , “मानो रोपेर मुरी भित्र्याउने यो बेला हामीलाई चुनावभन्दा खेतीपाती नै प्यारो छ ।” 

किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने यो बेला अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । पार्टीहरूले कृषिप्रधान देशको नामअनुसार किसानका हितमा काम नगरेको उनीहरूको गुनासो छ । 

त्यसो त दलहरुले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीबारे प्रचारप्रसार गर्दै मत माग्न थालिसकेका छन् । दलहरुले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचारप्रसार समितिहरु निर्माण गरेर धमाधम चुनाव प्रचारप्रसार थालेका छन् । 

कतिपय कृषकलाई चुनाव के हो ? भन्ने कुरा नै जानकारी छैन । गाउँगाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि कृषक रनभुल्ल परेका हुन् । स्थानीय तहमा भोट हालेपछि यति चाँडै मत दिनुपर्दैन भन्ने बुझेकाहरूले प्रतिनिधि र प्रदेश सभा चुनावमा कसरी मतदान गर्ने भन्ने अन्योल देखिन्छ । 

निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमको तयारी भए पनि शुरु भइसकेको छैन । एक महिनामात्र बाँकी रहँदा पनि निर्वाचन शिक्षा कार्यक्रम शुरु नभएकाले त्यो प्रभावकारी नहुने निश्चित छ । नमूना मतपत्रसमेत अझै नआउँदा गाउँघरको चुनावी सभामा नमूना मतपत्र लैजान नपाइएको उम्मेदवारहरूले बताएका छन् । 

संयुक्त प्रचारमा गठबन्धन 

चुनावका लागि उम्मेदवारी दिएका दलहरुले पार्टीको प्रचारप्रसार कार्यक्रम तीव्ररुपमा अघि बढाएका छन् । वाम गठबन्धनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त टोलीबाट प्रचारप्रसार शुरु भएको छ । यता नेपाली काँग्रेसले पनि जिल्लाभरि नै कार्यकर्तालाई परिचालित गरेको छ । 

गठबन्धनका दुवै दलका साझा उम्मेदवारलाई जिताउन उत्तिकै जिम्मेवारी रहने बताउँदै केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ता परिचालित छन्् । नेपाली काँग्रेसका नेताहरु पनि गाउँ पसिसकेका छन् । स्थानीय चुनावमा दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका पाँच वटा स्थानीय तहमा नेकपा (एमाले)ले जित निकालेको थियो । बाँकी एक तहमात्रै काँग्रेसले जितेको थियो । तर अहिले काँग्रेस पनि जित आफ्नो पक्षमा निकाल्ने दाउमा छ भने एमाले पुरानै जित दोहो¥याउने दाउमा छ । 

प्रतिनिधि सभामा काँग्रेसकी युवा नेत्री तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको प्रतिस्पर्धात्मक उम्मेदवारी छ । 

यस्तै, संघीय समाजवादी फोरम नेपालका तुलसीप्रसाद अधिकारी, नेकपा (माले)का डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंकरमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङ्वाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको पनि उम्मेदवारी परेको छ । 

यस्तै, प्रदेश सभा–१ मा नेपाली काँग्रेसका गोविन्द ढुंगाना, वाम गठबन्धनका लागि एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सूर्य मादेन, नेकपा (माले)का माधवप्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका वीरबहादुर थापाको उम्मेदवारी छ । 

क्षेत्र नं २ मा काँग्रेसका विजय सम्बाहाम्फे, वाम गठबन्धनका तेजमान कन्दङ्वा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदादेवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार लिम्बू, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङ्वा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापाको उम्मेदवारी छ । 

प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लाबाट प्रदेश सभा–१ मा म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका तथा प्रदेश सभा–२ मा फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका पर्छन् । 

तेह्र मतदानस्थल संवेदनशील 

सुरक्षाको दृष्टिले जिल्लाका १३ वटा मतदानस्थल संवेदनशील रहेका छन् । जिल्ला सुरक्षा समितिले प्रतिनिधि र प्रदेश सभा चुनावमा सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका १३ मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ । (रासस)
–––