तेल अविव, इजरायल, १९ चैत । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो चार दिने औपचारिक भ्रमणका क्रममा इजरायल पुगेका छन । राष्ट्रपति बोल्सोनारो र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार जेरुसेलमको एक पुरानो शहर वेस्टर्न वाल पुगेका थिए।
स्थानीय समयानुसार सोमबार आपराह्न दुबै जना सो शहरमा पुगेकाे अधिकारीहरुले जनाएका छन् । यो शहरलाई जियुजहरुको एक पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । कतिपय देशले यो वेस्टर्न वाल शहरलाई इजरायलको भू–भागका रुपमा पनि स्वीकार गर्न मान्दैनन् ।
ब्राजिलका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीले सो शहरमा केही समय विताएका थिए । उनीहरुले त्यहाँ पुगी उक्त तीर्थस्थलमा प्रार्थना गरेका थिए । जेरुसेलममा ब्राजिलले व्यापार तथा सूचना प्रविधिसम्बन्धी कार्यालय खोल्ने घोषणा राष्ट्रपति बोल्सोनारोले गरेका छन।
ब्राजिलले यस कार्यालय खोल्ने कार्यक्रमको घोषणा गर्नु भनेको जेरुसेलममा ब्राजिलले आफ्नो दूतावास खोल्न लागेको कुराको संकेत भएको इजरायलले जनाएको छ । सो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गरेलगत्तै ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले इजरायलमा व्यापार प्रवर्द्धन र लगानीका लागि सो कार्यालय स्थापना गर्न लागिएको जानकारी आफ्नो ट्वीट अकाउन्टमार्फत गराएका छन । रासस



