जनकपुर १४ चैत । जनकपुर बम काण्डमा दाेषी करार गर्दै पूर्वराज्य मन्त्री सञ्जय साह ‘टक्ला’सहित ७ जनालाई जिल्ला अदालत धनुषाले बिहिबार जन्मकैदको फैसला सुनाएको छ।
धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले साहसहित जयप्रकाश चौधरी, मुकेश चौधरी, सुरेशकुमार कर्ण, राजन मुक्ति भनिने रञ्जित झा, मुकेश कर्ण र जितेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको हो। बमकाण्डका आरोपित ओमप्रकाश यादवलाई ५ वर्षको कैद र अर्का आरोपी सुजितकुमार पाण्डेले सफाइ पाएका छन्।
२०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चौकमा बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए।
पूर्व राज्यमन्त्री साह २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट धनुषा–४ तथा २०७० सालकाे दोस्रो संविधानसभा चुनावमा राजेन्द्र महताेकाे नेतृत्वमा रहेकाे तत्कालीन सद्भावना पार्टीबाट धनुषा–३ बाट विजयी भएका थिए। उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्री राज्यमन्त्री बनेका थिए।
सशस्त्र समूहका नाइके मुकेश चौधरी पक्राउ परेपछि जनकपुर बमकाण्डमा साहको संलग्नता खुलेको थियाे। मुकेशको वयानका आधारमा प्रहरीले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सलसिलामा साहले दिएको ८ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान दिएका थिए।
साहले धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई'समाप्त' पार्ने गरी बम विस्फोट गराउने योजना बनाएकाे अनुसन्धानबाट खुलेकाे थियाे।



