काठमाडौं, २३ फागुन : दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाले १ सय १३ रनको लज्जास्पद हार बेहोरेको छ । बुधबार राति भएको खेलमा श्रीलंकाले निकै फराकिलो अन्तरले हारको स्वाद चाखेको हो ।
२ सय ५२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको श्रीलंका ३२.२ ओभरमा पूरै विकेट गुमाउँदै १ सय ३८ रनमा समेटिन पुग्यो । श्रीलंकाका लागि ओशद फर्नान्डोले सर्वाधिक ३१ रन बनाउँदा कुशल मेन्डिजले २४ र थिसेरा परेराले २३ रन बनाए ।
श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट हात पार्दा लुगी निडी, इमरान ताहिर र एनरिच नोर्टजेले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पनि ४५.१ ओभरमा अलआउट हुँदै २ सय ५१ रन बनाउन सक्यो । उसका लागि 'म्यान अफ दी म्याच' घोषित भएका क्विन्टन डिककले ९४ रनको शानदार पारी खेले । त्यस्तै कप्तान फाफडु प्लेसिले ५७, रजा हेनरडिक्सले २९ र डेविड मिलरले २५ सन जोडे ।
श्रीलंकाका लागि बलिङतर्फ थिसेरा परेराले ३ विकेट लिए । त्यस्तै कप्तान लाथिस मलिंगा र धनन्जय डी शिल्भाले समान २/२ विकेट लिँदा विश्व फर्नान्डो, कसुन रजिथा र अलिका धनन्जयले समान १/१ विकेट लिए ।
यो जीतसँगै दक्षिण अफ्रिकाले ५ खेलको एकदिवसीय सिरिजमा २-० को अग्रता कायम गरेको छ । यी दुईबीच तेस्रो खेल आइतबार हुनेछ ।



