काठमाडौं, १३ फागुन : नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टर र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलबीच शिष्टाचार भेट भएको छ ।
शिष्टाचार भेटले नेपालको विकास र समृद्धिका लागि अमेरिकाको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरिएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको छ ।
भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरेका थिए ।
उपप्रधानमन्त्री पोखरेलले अप्ठ्यारो स्थितिमा नेपाललाई अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै नेपालका सुरक्षा अङ्गलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि विमर्श भएको जानकारी दिए ।
साथै मन्त्री पोखरेलले नेपालले कुनै पनि अन्तर्राष्ट्रिय र क्षेत्रीय सैन्य संरचनामा सहभागिता नजनाउने भए पनि दुई देशबीचको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य हुने बताए । (रासस)



