काठमाडौं, ८ फागुन : एक ट्याक्सी चालकले उदाहरणीय काम गर्दै ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।
आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् । चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र १ थान, सानो मङ्गलसूत्र १ थान, चन्द्रमा १ थान, तिलहरी १ थान, घाँटीको हार १ थान, पिजडा टप १ जोडी, वेरुवा रिङ १ जोडी, औँठी ३ थान, लेडिज पर्स १ थान र रु ६ हजार १ सय २३ फेला पारेका थिए ।
चालक राईले फेला पारेको उक्त गरगहना र नगद महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रहरी नायब उपरीक्षक भट्टले बताए । (रासस)



