नियन्त्रित लागूऔषधसहित पक्राउ :
रौतहट, ७ फागुन। कटहरिया नगरपालिका-१ स्थित सार्वजनिक सकडबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय एम्पुल, डाईजेल्याव २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र नाईट्राभेट १५ हजार ट्याब्लेट सहित २ जनालाई फागुन ६ गते सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पुर्वीचम्पारण बस्ने २६ वर्षीय मोहमद कलीमुल्लाह र भारत घर भएका २० वर्षीय मोहमद हैदर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ए६५८० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चालक कलीमुल्लाह र मोटरसाइकलमा सवार हैदरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
जुवातास खेल्ने पक्राउ :
काठमाडौं, ७ फागुन। कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायकस्थित सिताराम न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं साँखुका ४० वर्षीय गोम लामा समेत २ जनालाई ३ बुक तास र नगद १५ हजार रूपैयाँ सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यार्सागुम्बा जस्तो देखिने वस्तु सहित पक्राउ :
काठमाडौं, ७ फागुन। काठमाडौं महानगरपालिका-५ भत्केकोपुलबाट ललितपुर कुपण्डोल बस्ने चितवन खैरनी नगरपालिका-६ का २२ वर्षीय सुजनसारु मगरलाई यार्सागुम्बा जस्तो देखिने वस्तु १ सय १८ पिस, नेपाली रूपैयाँ ४३ हजार ५ सय ५० र अमेरिकी डलर २० सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले बा.८९ प ३६३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मगरको साथबाट उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु :
काठमाडौं, ७ फागुन। पर्सा, चितवन र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पर्सा, वीरगंज महानगरपालिका-२५ आइसिसि गेटस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले सोमबार दिउसो ठक्कर दिँदा सोही महानगरपालिका खलवाटोल सिर्सिया बस्ने साहेन साहको ३ वर्षीया छोरी सन्झना कुमारी साहको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएकी उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२३ कृष्णचोकस्थित सडकमा बा.१५ च ४९२६ नम्बरको कारले पैदलयात्री सोही स्थान बस्ने अन्दाजी ८० वर्षीय जितबहादुर सार्कीलाई सोमबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषलाई सोमबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन तथा चालकको प्रहरीले खोजी गर्नुका साथै मृतकको सनाखतको लागि आवश्यक कार्य गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु :
धादिङ, ७ फागुन। शिद्धलेक गाउँपालिका-५ बुङचुङ बस्ने २७ वर्षीय बिष्णु श्रेष्ठको करेन्ट लागेर सोमबार दिउसो मृत्यु भएको छ । आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि गजुरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मिक्स्चर मेशिनले च्यापिएर मृत्यु :
सोलुखुम्बु, ७ फागुन। दुधकुण्ड नगरपालिका-४ सुर्के घर भई ठेकेदारको काम गर्ने ३६ वर्षीय धनकुमार श्रेष्ठको मिक्स्चर मेशिनले च्यापिएर सोमबार साँझ मृत्यु भएको छ ।
सोही नगरपालिका-७ गार्मा माबिको नवनिर्मित भवनमा काम सकेर मिक्स्चर मेशिन सार्ने क्रममा उक्त मेशिन खाल्डोमा परी पल्टन गई सोही मेशिनले च्यापिएर गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत अवस्थामा फेला :
काठमाडौं, ७ फागुन। काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३८ वर्षीया ममता भण्डारी सोही स्थानमा रहेको चौरमा सुतिरहेको अवस्थामा सोमबार दिउसो मृत फेला परेकी छन् ।
सोलुखुम्बु, खुम्बु पासाङल्हामू गाउँपालिका-४ खुम्जुङ बस्ने ३६ वर्षीया मिङमा याङजी शेर्पा सोही गाउँपालिका-३ जोरसल्लेस्थित दुधकोशी नदीको किनारमा सोमबार दिउसो मृत अवस्थामा फेला परेकी छन् । सोही गाउँपालिका-४ फोर्चेस्थित माईतीघरमा होटल संचालन गरी बस्दै आएकी शेर्पाले नाम्चेबजारस्थित होस्टलबाट आफ्नै १९ वर्षीया छोरी र ७ वर्षीय छोरालाई बुझी लगेको र समयमै घर आई नपुगेकोले आफन्तहरूले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
साथै उक्त नदीको किनारमा बच्चाका कपडा र जुत्ताहरु मात्र फेला परेका छन् । प्रहरीले स्थानीयको सहयोगमा बेपत्ता भएका बच्चाहरुको खोजी गरिरहेको छ ।
बाँके, ७ फागुन। नेपालगंज उपमहानगरपालिका-१८ स्थित भेरी अटो वर्कशप बाहिर बनाउनको लागि राखिएको जिपसी सुजुकी जिपमा मंगलबार बिहान आगलागी हुँदा जिप पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



