काठमाडौं, ५ फागुन । हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतवार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो ।
कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैैपनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिएका छन् । उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दुराष्ट्र नै कायम गनुपर्ने माग राखे ।
उनले भने,‘हामी कोही पनि हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजावादीसंग जोडेर नहेर्नपनि अनुरोध गर्दछौं ।’
पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्मसम्बन्धी गतिबिधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला हिन्दुभित्रै रहेका तल्लो जात र माथिल्लो जातको बिचको बिभेद हटाउनुपर्ने धारणा राखे ।
उनले हिन्दुभित्रै जातको बिभेदमा बाँचेकाहरु नै आज आफ्नो धर्म त्यागेर अरु बाह्य धर्म अंगाल्न पुगेको आरोप लगाए । ‘कुनैपनि राष्ट्रमा पहिले मुल धर्मलाई आत्मसात गर्नसक्नुपर्छ’–पटेलले थपे ।
नेपालको संबिधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाईने भनेर स्पष्ट रुपमा लेखेको उल्लेख गर्दै उनले आज देशलाई नै हिन्दुबिहिन बनाउन लाग्दापनि सरकारको त्यतातर्फ ध्यान तथा आँखा नपरेकोमा आपत्ति जनाए ।
धर्म परिवर्तनको बहानामा संसारमा नेपाल र नेपालीको पहिचान बोकेको हिन्दु धर्ममाथि नै पछिल्लो समय प्रहार भएको पनि उनले गुनासो पोखे । उनले आगामी पाँच बर्षभित्र २५ लाख नेपालीलाई हिन्दु धर्ममा जोड्ने आफूहरुको अभियान रहेकोे पनि जानकारी गराए । सरकारलाई दवाव दिनकै निमित्त मेचि–महाकाली अभियानको शुरुवात गरिसकेको पनि उनले जनाए।



