विराटनगर, ४ फागुन : जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसार क्षेत्रहरु लोप हुँदै गएका छन् । भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको महत्व घट्दै, पोखरी पुरिँदै, सुक्दै, अन्य उपयोगमा जाँदै मासिँदै गरेका छन् ।
मोरङमा हाल १९ वटा सिमसारको पहिचान भइसकेको छ । तिनमा सुन्दरहरैंचाको हसिना र वागदेवी सिमसार, उर्लावारीमा रहेका सालबारी, वेतेनी र सुनझोडा सामुदायिक वन सिमसार, पथरीमा रहेका भुल्के, जालपादेवी, श्रीजङ्गा, बाघेखाडी र सुन्दर सामुदायिक वन सिमसार पर्दछन् । मधुमल्लाका कतले बेतिनी र देवीथान सिमसार रहेका छन् ।
त्यसैगरी वेतना सिमसार (बेलवारी), झलझली सिमसार (डाँगीहाट), कानेपोखरी भलुवा सिमसार (वयरवन), धनपाल गढी सिमसार (कसैनी) रहेका छन् । यसबाहेक बजरङ सिमसार (ग्रामथान तेतरिया), सिमसार (पथरी), राजारानी सिमसार (लेटाङ), र गरापानी सिमसार लेटाङ छन् ।
मोरङ जिल्लाअन्तर्गत रहेका सिमसारको संरक्षण र प्रवद्र्धन गर्नका लागि डम्बर बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सिमसार संरक्षण तदर्थ समिति निर्माण भएको छ । वेतना सिमसार क्षेत्रका अध्यक्ष डम्बर बस्नेतले १७४ दशमलव ९१ हेक्टर जग्गा रहेको यो सिमसारलाई व्यवस्थित गर्न तत्काल रु १५ करोड खर्च गर्न सकियो भने यसैको माध्यमबाट आयआर्जन गरी २० वर्षे गुरुयोजना बनाई व्यवस्थित, सुन्दर र राम्रो बनाउन करीब रु २ अर्ब खर्च लाग्ने बताएका छन् ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले कमै मुलुकमा पाइने सिमसार हाम्रो देशमा प्रशस्त रहेकाले यसलाई समयमै संरक्षण, सम्बद्र्धन, व्यवस्थित गर्न सकियो भने सुन्दर र दिगो पर्यावरणीय भविष्यमा सुनिश्चिताका लागि बुद्धिमत्ता हुने बताए ।
पूर्ण रुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमीनमुनिको पानी वा वर्षाले जमेको अथवा बगेको पानीको क्षेत्र नै सिमसार हो । सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रय स्थल, खाद्यान्न औषधि र जडीबुटी, दैनिक उपभोग्य वस्तु, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल आदिको उपयोगिता प्रदान गरेको हुन्छ ।
मानव र यो विश्वकै लागि सिमसारको महत्वको बारेमा विश्वव्यापी सचेतना जगाउनका लागि प्रत्येक वर्ष फेब्रुवरी २ मा ‘विश्व सिमसार दिवस” मनाउने गरिन्छ ।
विभिन्न पक्षी, उभयचर, किरा, माछा र जनावरको वासस्थान प्रदान गरेर सिमसारले जैविक विविधता संरक्षणमा पनि ठूलो मद्दत गरेको छ । जनसङ्ख्या वृद्धिसँगै भइरहेको जलवायु परिवर्तनले सिमसारमाथिको अतिक्रमण पनि बढिरहेको छ । (रासस)



