काठमाडौं, २८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् ।
गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गरे ।
जनताले छानेको संविधान र प्रणालीअन्तर्गत संसद् र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुन सक्ने भएकाले लोकतन्त्रमा जनता नै सर्वोपरि हुने बताउँदै विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग गर्दै सुशासन र विकासको बाटामा देशलाई अगाडि लैजाने अभिभारा देशको सामु आएको ओलीले बताए । “अहिले ल्याएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले अहिले लोकतान्त्रिक अभ्यासअनुसार देश अगाडि बढ्न थालेको छ”, उनले भने ।
अहिले पनि धेरै चुनौती आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “केही दिन अघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पु¥याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुनुहुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यअन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।”
“जनता आफ्नो इच्छा आकाङ्क्षा प्रकट गर्न सक्छन्, जनता सार्वभौम छन्, त्यो नै सत्य हो, त्यस कारण अरु प्रवृत्तिसँग अल्झिनु हुन्न”, प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । (रासस)



