• बुधबार-बैशाख-३-२०८२

मलबारे सरकारको झुठो कुरा : किसान महासंघ भन्छ–मल नपाएर हैरान 

 

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले चैते धान, मकै बाली र आगामी असार साउनमा धान रोप्ने सिजनमा रासायनिक मलको अभाव नहुने दावी गर्दै आएको छ । तर, नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले एक विज्ञाप्ति प्रकाशित गरी अनुदानको मलको आपूर्ति र वितरणमा कृषि सामग्री केन्द्रको हेलचक्र्याइँका कारण किसानले मलको अभाव झेल्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । केही समय अगाडि महासंघले तराई र पहाडका केही किसानहरुले चैते धान र मकै बाली लगाउनका लागि किसानले मल नपाउँदा सास्ती भोग्नु परेको भन्दै विज्ञप्ति जारी गर्नु परेको थियो ।


महासंघले विज्ञप्तिमार्फत यतिवेला युरिया र पोटास मलको चरम अभाव रहन गएको भन्दै रासायनिक मलको उपलब्धता सहज बनाउन सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । तर, कृषि मन्त्रालय स्रोतले भने आवश्यक मात्रामा स्टक रहेको र ग्लोवल टेण्डरमाफर्तको संझौता भए अनुसार रासायनिक मल आयात भइरहेको जनाएको छ । जसका कारण  बाहिर चर्चा भए जस्तो अभाव नभएको र आगामी सिजनमा पनि नहुने जानकारी दिएको छ । विगत वर्षहरुमा जेठमा नयाँ बजेट सार्वजनिक भएपनि अर्थ मन्त्रालयबाट मल खरिदका लागि स्रोत सुनिश्चित भएर आउन ढिलाई हुने गरेको थियो ।


तर, गत आर्थिक वर्षबाट भने ग्लोवल टेण्डर आव्हान गर्नु अगावै अर्थबाट स्रोत सुनिश्चिता गरेर प्रक्रिया अगाडि बढाईदै आएको छ । यही कारण समयमा रासायनिक मल आयातमा कुनै समस्या नरहेको जानकार स्रोतको भनाई रहेको छ । यसअघि मल खरिदका लागि सरकारले ढिलोगरी बजेट निकासा गर्दा पानि समस्या आउने गरेको थियो । यस पटक भने कृषि मन्त्रालयले मल खरिदका लागि पुस महिनामा अर्थबाट बजेटको स्रोत सुनिश्चितता दिने गरेको छ ।


स्रोत भन्छ ‘त्यसकारण अहिले मल खरिदमा बजेट विनियोजन, बजेट सुनिश्चितता, ठेक्का व्यवस्थापन, मल आयात र ठेक्का रकम भुक्तानीमा खासै समस्या छैन ।’ टेण्डरमार्फत नेपाल भित्र्याइएको रासायनिक मलको उचित, वैज्ञानिक, चुस्तदुरुस्त ढंगल समयमा ढुवानी र वितरण नहुँदा समस्या परेको देखिन्छ । वितरण प्रणालीमा कृषि सामग्री केन्द्रअन्तर्गका प्रादेशिक कार्यालयले सहकारी संस्था, स्थानीय तहहरुलाई उचित ढंगले उपलव्ध गराएको खण्डमा किसानले अभाव झेल्नु नपर्ने मन्त्रालय स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८२ वैशाख १)
 

प्रतिकृया दिनुहोस