• बुधबार-असोज-१-२०८२

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

 

गाजा सिटी,१ असोज (रासस/एएफपी) : इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारवाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो ।

 

इजरायली सेनाले मङ्गलबार बिहानै गाजा सहरमा ठूलो बमबारी गर्यो र आफ्ना सैनिकहरूलाई गाजा स्ट्रिपको सबैभन्दा ठूलो शहरी क्षेत्रभित्र अगाडि बढायो । इजरायली सेनाले अब ‘सलाह अल–दिन सडक’ मार्फत अस्थायी यातायात मार्ग खोलिएको जानकारी दिएको छ, जुन बिहीबार दिउँसो १२ बजेदेखि ४८ घण्टाका लागि खुला रहने छ ।

 

युनाइटेड नेसन्सले अगस्त अन्त्यमा गाजा सहर र वरपर करिब एक लाख मानिसहरू बसोबास गर्ने अनुमान गरेको छ । हालसम्म तीन लाख ५० हजार भन्दा बढी मानिसहरू दक्षिणतर्फ भागिसकेको इजरायली सेनाको दाबी छ । तर गाजा बसोबास गर्ने धेरै मानिसहरू भन्नुभयो,“यहाँ कुनै सुरक्षित ठाउँ छैन । हामी घरमै मर्न तयार छौं ।”


युद्ध अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा सुरु भएको थियो, जसमा एक हजार २१९ जना सामान्य नागरिक मारिएका थिए । इजरायली कारवाहीमा अबसम्म करिब ६४ हजार ९६४ जना सामान्य नागरिकको मृत्यु भएको छ ।

 

संयुक्त राष्ट्रको एक स्वतन्त्र जाँच टोलीले इजरायलले गाजामा ‘जनसंहार’ गरिरहेको बताएका छन् । तर इजरायली सरकारले यो आरोप अस्वीकार गर्दै उक्त टोलीको तुरुन्त खारेजीको माग गरेको छ ।
यसैबीच कतार र फ्रान्सले इजरायललाई गाजा सहरमाथि आक्रमण रोक्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कतारका शेखसँग भेट गरी मध्यस्थताको भूमिकामा रहन आग्रह गर्नुभयो । 
 

 

प्रतिकृया दिनुहोस